नासाले चिनियाँ नागरिकलाई डाटा पहुँचमा रोक लगायो
प्रकाशित मिति : भाद्र २५, २०८२ बिहीबार
अमेरिकी अन्तरिक्ष संस्था नासाले अमेरिकी भिसा भएका चिनियाँ नागरिकहरूलाई आफ्ना सुविधाहरूमा प्रवेश गर्न रोक लगाएको छ। यो निर्णयसँगै उनीहरूलाई नासाका प्रतिष्ठित अन्तरिक्ष अनुसन्धान केन्द्रहरूमा काम गर्नबाट पनि रोक लगाइएको छ।
सेप्टेम्बर ५ देखि, चिनियाँ नागरिकहरूलाई अचानक नासाका प्रणाली र सुविधा प्रयोग गर्न दिइएन। उनीहरू नासामा ठेकेदार वा अनुसन्धानमा योगदान दिने विद्यार्थीको रूपमा काम गरिरहेका थिए।
नासाले चिनियाँ नागरिकहरूलाई संस्थाको “सुविधा, सामग्री र नेटवर्क” प्रयोग गर्न रोक लगाएको पुष्टि गरेको छ। यो कदमले नासाको कामलाई अझ सुरक्षित बनाउने नासाको दाबी छ।
चीनको तीव्र गतिमा बढिरहेको अन्तरिक्ष कार्यक्रमले अमेरिकालाई चिन्तित बनाएकाले नासाले यो निर्णय लिएको देखिन्छ। नासाको पछिल्लो कदमले दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाउन सक्ने अनुमान गरिएको छ।
यसअघि नै चिनियाँ अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा सहभागी हुन रोक लगाइसकिएको छ। अमेरिकाले नासालाई चीनसँग आफ्नो डाटा बाँड्न रोक लगाएको छ। अहिलेको यो नयाँ प्रतिबन्धले विज्ञान र प्रविधिमा दुई देशबीचको सहकार्यलाई थप कमजोर बनाएको छ।
विशेषगरी विज्ञान र प्रविधि पढिरहेका चिनियाँ विद्यार्थीलाई अमेरिकी भिसा लिन र भिसा पाएपछि पनि अमेरिका प्रवेश गर्न कठिन भएको छ। हालै अमेरिकामा चिनियाँ नागरिक, विशेषगरी वैज्ञानिकहरूमाथि जासुसी गरेको आरोप लाग्ने गरेको छ।
नासामा काम गरिरहेका चिनियाँहरूले अचानक आफ्नो डाटामा पहुँच बन्द भएको र प्रत्यक्ष वा भर्चुअल दुवै किसिमका बैठकमा सहभागी हुन नपाएको बताएका छन्। नासाकी प्रेस सचिव बेथनी स्टीभेन्सले चिनियाँ नागरिकलाई नासाका भौतिक तथा साइबर सुरक्षा पहुँचमा प्रतिबन्ध लगाइएको जानकारी दिएकी छिन्।
चीनले आफ्ना अन्तरिक्ष लक्ष्यहरूबारे खुलेआम बताउँदै आएको छ। नासाका कार्यवाहक प्रशासक सीन डफीले भनेका छन्, “हामी अहिले दोस्रो अन्तरिक्ष प्रतिस्पर्धामा छौं। चीनले हामीभन्दा अघि चन्द्रमामा पुग्न चाहन्छ, तर त्यो सम्भव हुने छैन।”
चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीका प्राविधिक विभाग प्रमुखले भने अमेरिकी चिन्ता अनावश्यक भएको बताएका थिए। उनले चीनको अन्तरिक्ष अभियानलाई “मानवताको साझा मिसन” भनेका थिए।
गत हप्ता अमेरिकी सिनेटको सुनुवाइमा सांसदहरूले चीनभन्दा पहिले नै अमेरिकाले चन्द्रमामा मानिस पुर्याउनुपर्नेमा जोड दिएका थिए। यो प्रतिस्पर्धा केवल चन्द्रमामा पुग्ने विषय मात्र होइन, त्यहाँका स्रोतहरूलाई नियन्त्रण गर्ने विषय पनि हो।
चन्द्रमामा दुर्लभ खनिज, फलाम, टाइटानियम र हिलियम जस्ता महत्त्वपूर्ण तत्व पाइन्छन्। ती तत्वहरूको प्रयोग सुपरकन्डक्टरदेखि चिकित्सा उपकरणसम्म हुन्छ।








