गैरकानुनी रूपमा नेशनल गार्ड तैनाथ गरेको भन्दै डीसीद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

अमेरिकाको राजधानी वाशिङ्टन डी.सी. ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध बिहीबार संघीय अदालतमा मुद्दा दायर गरेको छ। उक्त मुद्दामा राष्ट्रपति ट्रम्पले शहरमा नेशनल गार्ड सैनिक पठाउने निर्णयलाई गैरकानुनी भन्दै चुनौती दिइएको छ।

गत महिना वाशिङ्टन तथा सात वटा राज्यबाट हजारौं नेशनल गार्ड सदस्यहरू परिचालन गरिएको थियो। यसै क्रममा सयौं संघीय कानून कार्यान्वयन अधिकारीहरूलाई समेत शहरको सडकमा उतारिएको थियो। राष्ट्रपति ट्रम्पले यसलाई “सार्वजनिक सुरक्षाको आपतकालीन अवस्था” को प्रतिक्रिया भन्दै औचित्य प्रस्तुत गरे पनि स्थानीय स्तरमा यस कदमले कडा आलोचना र विरोध भड्काएको छ।

वाशिङ्टनका नागरिक र स्थानीय अधिकारीहरूले राष्ट्रपति ट्रम्पले संघीय अधिकार प्रयोग गरेर शहरको सीमित स्वशासनलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्प शहरको नीतिहरूप्रति असहमत भएका कारण संघीय शक्ति प्रयोग गरेर वाशिङ्टनलाई सजाय दिन खोजिरहेको उनीहरूको आरोप छ ।

डी.सी.का अटर्नी जनरल ब्रायन स्क्वाल्बले विज्ञप्ति जारी गर्दै भने, “कुनै पनि अमेरिकी शहरको सडकमा अमेरिकी सेना (विशेषगरी बाहिरी राज्यका सैनिक, जो स्थानीय नागरिकप्रति जवाफदेही छैनन् र स्थानीय कानून कार्यान्वयनमा प्रशिक्षित छैनन्) परिचालन हुनु हुँदैन। यस गैरकानुनी संघीय अतिक्रमणलाई अन्त्य गर्न हामीले मुद्दा दायर गरेका हौं।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो मुद्दा क्यालिफोर्नियामा संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले लस एञ्जलसमा नेशनल गार्ड पठाउने निर्णय गैरकानुनी ठहर गरेको दुई दिनपछि दायर गरिएको हो।

वाशिङ्टनको दावी अनुसार, मेयरको सहमति बिना स्थानीय गार्ड परिचालन गर्नु ५२ वर्ष पुरानो होम रुल एक्ट अन्तर्गत शहरको स्वायत्तता उल्लङ्घन हो। साथै, सेना घरेलु कानून कार्यान्वयनमा प्रयोग नगर्ने अमेरिकी लोकतन्त्रको आधारभूत सिद्धान्तलाई तोडिएको आरोप पनि मुद्दामा लगाइएको छ।

स्थानीय विरोध र कानुनी चुनौतीको बाबजुद राष्ट्रपति ट्रम्पले बाल्टिमोर र शिकागोमा पनि सैनिक पठाउने चेतावनी दिएका छन्। यी दुवै शहर डेमोक्र्याट पार्टीका अफ्रिकी मूलका मेयरद्वारा सञ्चालित छन्।

ट्रम्पले गत अगस्ट ११ मा स्पष्ट रूपमा शहरमा “कानून, व्यवस्था र सार्वजनिक सुरक्षा पुनःस्थापित गर्न” गार्ड परिचालन गर्ने बताएका थिए । त्यसयता, सयौं गिरफ्तारी र आव्रजन अधिकारीहरूले कागजातविना बसोबास गर्दै आएका वाशिङ्टनका बासिन्दालाई नियन्त्रणमा लिएका छन्। गार्डका सैनिकहरू मेट्रो स्टेसन र विभिन्न सार्वजनिक स्थल वरिपरि तैनाथ छन्। कतिपयलाई सडक सफाइमा समेत लगाइएको छ।

यो ट्रम्प प्रशासनविरुद्ध वाशिङ्टन शहरले दायर गरेको दोस्रो मुद्दा हो। राष्ट्रपति ट्रम्पले राजधानीमा “सार्वजनिक सुरक्षा आपतकालीन अवस्था” घोषणा गरेपछि पहिलो मुद्दा दायर गरिएको थियो। उक्त मुद्दाले डी.सी. प्रहरीमाथि संघीय नियन्त्रण कायम गर्ने अधिकारलाई चुनौती दिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com