१ दशमलव १ बिलियन डलरको पावरबल ज्याकपट आज राती खोलिने, लोटरीबारे रोचक तथ्यहरु
प्रकाशित मिति : भाद्र १५, २०८२ सोमबार
आज राती खोलिने पावरबल ज्याकपट १ दशमलव १ बिलियन डलर पुगेको छ। यो पुरस्कार रकम इतिहासकै पाँचौँ ठूलो हो। शनिबार राती कसैले पनि ज्याकपट नजितेपछि यो रकम झनै बढेको हो।
ज्याकपट जित्नेले एकमुष्ठ नगद लिन चाहेमा करअघि झण्डै ४९८ मिलियन डलर प्राप्त गर्नेछन् । विजेताहरूले ३० वर्षमा वार्षिक भुक्तानी लिने विकल्प पनि छान्न सक्छन्, जसमा प्रत्येक वर्ष ५ प्रतिशत वृद्धि हुन्छ । प्राप्त रकममा ट्याक्स तिर्नुपर्छ । ट्याक्स रकम राज्य अनुशार फरक फरक हुन्छ । जसका कारण विजेताहरूले घर लैजाने रकम सयौं मिलियन डलरले भिन्न हुन्छ ।
सबै विजेताहरूले आफ्नो जीतमा स्वचालित रूपमा २४ संघीय कर तिर्छन्, जसलाई आम्दानीका रुपमा मानिन्छ। यद्यपि विजेताहरूले लगभग निश्चित रूपमा आफ्नो कर रिटर्न फाइल गर्दा संघीय करहरूमा अर्को १३ प्रतिशत पनि तिर्नेछन् । किनकि लाखौं डलरको जीतले उनीहरूलाई ३७ प्रतिशतको शीर्ष कर कोष्ठकमा राख्नेछ।
राज्यको आयकर तपाईं कुन राज्यमा बस्नुहुन्छ भन्ने आधारमा २ दशमलव ९ प्रतिशतदेखि १० दशमलव ९ प्रतिशतसम्म हुन्छ। र आठ राज्यहरूले लोटरी जित्दा आयकर लिदैनन् जसमा क्यालिफोर्निया, फ्लोरिडा, न्यू ह्याम्पशायर, साउथ डकोटा, टेनेसी, टेक्सास, वाशिंगटन र वायोमिङ रहेका छन् । पाँच राज्यहरू अलाबामा, अलास्का, हवाई, नेभाडा र यूटाह पावरबल लोटरीमा भाग लिँदैनन् ।
पावरबलको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार २ दशमलव ०४ बिलियन डलरको ज्याकपट नोभेम्बर २०२२ मा क्यालिफोर्नियामा परेको थियो। त्यसपछि अक्टोबर २०२३ मा क्यालिफोर्नियामा १ दशमलव ७६५ बिलियन डलर परेको थियो भने जनवरी २०१६ मा क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीमा विजेताहरूबीच १ दशमलव ५८६ बिलियन डलर बाँडिएको थियो।
त्यस्तै १ दशमलव ३२६ बिलियन डलरको ओरेगनमा, १ दशमलव ०८ बिलियन डलरको क्यालिफोर्नियामा जितेका उदाहरणहरु पनि छन् । टिकटको मूल्य २ डलर पर्छ भने यो ४५ राज्यहरू, डिस्ट्रिक्ट अफ कोलम्बिया, पोर्तोरिको र यूएस भर्जिन आइल्याण्डहरुमा उपलब्ध छ। ज्याकपट जित्ने सम्भावना २९२ दशमलव २ मिलियनमा १ हुन्छ भने जबकि कुनै पनि पुरस्कार जित्ने सम्भावना २५ मा १ हुन्छ।
तर लामो अनुसन्धानले स्टक बजार लोटरी किन्नुभन्दा राम्रो विकल्प भएको देखाएको छ । लोटरीको सपना देख्ने कुनै व्यक्तिले सन् २००२ देखि लोटरी टिकटहरूमा प्रत्येक महिना ४० डलर खर्च गरेमा यो रकम प्रत्येक वर्ष ४८० डलर हुन आउँछ । त्यो सबै रकम प्राय हार्ने सम्भावनामा नै पर्छ । यसरी हिसाब गर्दा २० बर्षमा तपाईले झण्डै १० हजार डलर गुमाउनुहुनेछ ।
लोटरी सपना देख्नुको सट्टा त्यो व्यक्ति स्टक मार्केटमा लगानी गरेको खण्डमा बढी नाफा कमाउन सक्ने विज्ञहरु बताउँछन् । उक्त व्यक्ति हरेक महिना ४० डलर एस एण्ड पी ५०० मा हालेको भएमा उक्त व्यक्तिले २० बर्षमा झण्डै २२ हजार डलर नाफा कमाउन सक्थ्यो । उक्त स्टकको बार्षिक बृद्धिदर सन् २००२ देखि २०२२ सम्म ८ प्रतिशत रहेको थियो ।
लोटरीबाट राज्यले कमाएको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२४ /२०२५ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको छ । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।
राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।
लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए । त्यसयता सन् १९६७ देखि अहिलेसम्म न्युयोर्कले लोटरीबाट भएको आम्दानीको ८९ बिलियन डलर शिक्षामा खर्च गरिसकेको छ ।








