अमेरिकामा आइसको हिरासतमा रहेका ७० प्रतिशत आपराधिक क्रियाकलापमा दोषी नभएका आप्रवासी


प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार

अमेरिकामा आप्रवासन नीति कडा बनाउँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरूलाई नियन्त्रणमा राख्ने कार्यलाई अझ तीव्र बनाइरहेका बेला हालै सार्वजनिक भएको तथ्यांकले प्रशासनकै दाबीविपरीत परिणाम देखाएको छ।

शुक्रबार सार्वजनिक गरिएको अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को पछिल्लो तथ्यांकअनुसार देशभरका आइस हिरासत केन्द्रहरूमा रहेका ६१,२२६ आप्रवासीमध्ये ७० प्रतिशत कुनै पनि आपराधिक क्रियाकलापमा दोषी ठहर भएका छैनन् ।

आइसको विवरणअनुसार, १८,२०५ जना कागजातविही आप्रवासीलाई आपराधिक क्रियालापमा दोषी ठहर भएका छन् भने १५,५९३ जनामाथि आपराधिक मुद्दा विचाराधीन छ। साथै, २७,४२८ जना अन्य आप्रवासन उल्लङ्घनका कारण मात्र हिरासतमा छन्।

यसले ट्रम्प प्रशासनले बारम्बार दाबी गर्दै आएको “आइसले मुख्यतः चिनिएका अपराधीहरूलाई मात्र नियन्त्रणमा लिएको” भन्ने कथनविपरीत तथ्य उजागर गरेको छ।

आइसले हिरासतमा लिएका आप्रवासीहरूमा वैध (ग्रीन कार्ड वा भिसा भएका आप्रवासीहरू), दशकौंअगाडिका दोषसिद्धि भएका तर लामो समयदेखि आप्रवासनसम्बन्धी समस्या नभएका, साथै विनाकागजात अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरू पनि समावेश छन्।

धेरै बन्दीहरूले आइसको हिरासतमा अमानवीय र कठोर अवस्था सहनुपरेको गुनासो गरेका छन्।

ट्रम्प प्रशासनले आफ्नो प्रमुख वाचा “मास डिपोर्टेशन” (ठूलो मात्रामा देश निकाला) पुरा गर्न आइसलाई ठूलो मात्रामा बजेट उपलब्ध गराएको छ। वान वीग ब्युटिफुल बील एक्टअन्तर्गत बढाइएको बजेटले आइसलाई हिरासत क्षमता विस्तार गर्न सहज बनाएको हो।

पछिल्ला आठ महिनादेखि हिरासतमा राखिएका आप्रवासीहरूको संख्या लगातार बढ्दै गएको तथ्यांकले देखाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत केही वर्षसम्म मेक्सिको हुँदै हुने गैरकानुनी सीमा पार गर्नेहरूलाई सीमा गस्तीले नियन्त्रणमा लिने कार्य नै मुख्य थियो। तर, ट्रम्प प्रशासन आएपछि सीमापार गर्नेहरूको संख्या घटेसँगै ध्यान देशभित्रै कागजातविहीन बसोबास गरिरहेका आप्रवासीहरूलाई लक्षित गर्नतर्फ केन्द्रित भएको छ।

आलोचकहरूले भने आपराधिक दोषसिद्धि वा मुद्दा नभएका व्यक्तिहरूलाई अनावश्यक रूपमा हिरासतमा राख्दा प्रणालीमा अतिरिक्त बोझ पर्ने, आप्रवासीहरू परिवारबाट टाढा हुने र मानवीय संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

आइसको पछिल्लो विवरणअनुसार, जुलाई महिनामा हिरासत प्रवेश गर्नेहरूको संख्या २१,३२९ मात्र रहेको छ । जुन महिनामा भने ३१,५९७ थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com