बोस्टनमा पनि कागजातविहीन आप्रवासीविरुद्धको अभियान सुरु गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आगामी हप्ताहरूमा बोस्टनमा आप्रवासन कार्यान्वयन (इन्फोर्समेन्ट) कडाइ गर्ने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार, योजनाअन्तर्गत ठूलो संख्यामा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)अधिकारीहरूलाई बोस्टन पठाइनेछ।

यसअघि प्रशासनले लस एन्जलस र वाशिङटनमा अभियान चलाइसकेको छ र हालै शिकागोमा पनि यस्तै कडाइ गर्ने तयारी भएको छ । बोस्टनकी मेयर मिशेल वू र ट्रम्प प्रशासनबीच बारम्बार विवाद हुँदै आएको छ। वूले आप्रवासीमैत्री नीति (स्यान्क्चुअरी पोलिसी) लागू गरेकी छिन्, जसअनुसार स्थानीय प्रहरीहरूले कागजातबिहीन आप्रवासीलाई पक्राउ वा हटाउने संघीय प्रयासमा प्रत्यक्ष सहयोग गर्दैनन्। ट्रम्प प्रशासनले यसलाई “सार्वजनिक सुरक्षालाई खतरा पुर्‍याउने” नीति भन्दै आलोचना गर्दै आएको छ।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टेफन मिलरले पत्रकारलाई भने, “स्यान्क्चुअरी शहरहरू नै राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षाका सबैभन्दा ठूलो चिन्ताको विषय हुन्। राष्ट्रपति बारम्बार प्रष्ट पारिसक्नुभएको छ कि यी क्षेत्रमा कडाइलाई प्राथमिकता दिनुपर्छ।”

अधिकारीका अनुसार, बोस्टनमा हुने अभियान सेप्टेम्बरमा शिकागोमा भएको कडाइपछि सुरु हुनसक्छ वा दुवै शहरमा एकैसाथ सञ्चालन हुनसक्छ। शिकागोमा नेशनल गार्डको उपस्थितिले महानगरीय प्रहरीलाई आइस अभियानमा सहयोग गर्ने “एक हप्ताभित्र शिकागोमा अपराध अन्त्य गर्ने” ट्रम्पको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गभर्नर माउरा हीलीको कार्यालयले यसबारे कुनै टिप्पणी गरेको छैन। तर मेयर मिशेल वूले भने कडा प्रतिक्रिया दिँदै भनिन्, “हामी देशकै सबैभन्दा सुरक्षित ठूलो शहर हौं, किनभने हाम्रा सबै समुदायका सदस्यहरूले समुदायलाई सुरक्षित राख्न आफ्नो भूमिका बुझ्छन्। बोस्टन स्वतन्त्रताको दीप र सबैका लागि घर बन्ने बाटोबाट कहिल्यै पछि हट्दैन। आफ्नो प्रशासनका असफलतालाई ढाकछोप गर्न शहरहरूलाई आक्रमण गर्न बन्द गर।”

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले भने, “हाम्रो लक्ष्य देशभरका सबैभन्दा खराब अपराधी कागजातबिहीन आप्रवासीहरू हुन्, जसमा हत्या गर्ने, बलात्कारी, ग्याङ सदस्य, बाल शोषक र आतङ्ककारीहरू पर्छन्। यी अपराधीहरू प्रायः स्यान्क्चुअरी शहरहरूमा आश्रय लिन्छन्, जहाँ राजनीतिज्ञहरूले उनीहरूलाई संरक्षण गर्छन्।”

साथै, प्रवक्ताले थपे, “राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको नेतृत्वमा, अपराधी कागजातबिहीन आप्रवासीका लागि कतै पनि सुरक्षित स्थान हुने छैन। यदि तपाईं हाम्रो देशमा अवैधरूपमा प्रवेश गर्नुहुन्छ र कानुन तोड्नुहुन्छ भने, हामी तपाईंलाई पत्ता लगाउनेछौं, पक्राउ गर्नेछौं, देशनिकाला गर्नेछौं र तपाईं कहिल्यै फर्कन पाउनुहुने छैन।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com