वाशिङ्टनको ऐतिहासिक युनियन स्टेशन अब ट्रम्प प्रशासनको नियन्त्रणमा, विश्वकै उत्कृष्ट बनाउने लक्ष्य


प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय राजधानी वाशिङ्टन डी.सी.मा थालेको कडाइ अभियानअन्तर्गत अब वाशिङ्टनको ऐतिहासिक र व्यस्त युनियन स्टेशन यातायात मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा आउने भएको छ।

बुधबार ट्रान्सपोटेशन सेक्रेटरी शोन डफीले पत्रकार सम्मेलनमार्फत यसबारे घोषणा गर्दै भने, “हामी यो सम्पत्ति अझ राम्रोसँग व्यवस्थापन गर्न सक्छौं। थप भाडामा लिनेहरू ल्याउनेछौं, राजस्व बढाउनेछौं । साथै, अपराध नियन्त्रण र घरविहीनहरूको बसोबास हटाउन सक्नेछौं। हाम्रो लक्ष्य यसलाई केवल अमेरिकामै नभई विश्वकै उत्कृष्ट रेल स्टेशन बनाउनु हो।”

डफीका अनुसार स्टेशनमा तत्कालै आधारभूत पूर्वाधार सुधार आवश्यक छ। अहिलेका लिफ्टहरू, बत्ती, सुरक्षा व्यवस्था र छानो जिर्णावस्थामा छन्। स्टेशनको सौन्दर्यकरण, सुरक्षा व्यवस्थापन र सफाइ अभियानलाई प्राथमिकतामा राख्दै उनले भने, “हामी लगानी गरेर सुनिश्चित गर्नेछौं कि यो स्टेशन फोहोर नहोस्, घरविहीनहरूको बसोबास यहाँ नहोस्, र यो स्थान व्यवसायी र यात्रु दुबैका लागि आकर्षक बन्न सकोस्।”

युनियन स्टेशनमा रहेको तीन तले शपिङ मलमा कोभिड महामारीपछि धेरै पसलहरू बन्द भएका थिए। मन्त्रालयले अब त्यहाँ नयाँ व्यवसाय ल्याउने योजना बनाएको छ।

युनियन स्टेशनको स्वामित्व सन् १९८० को दशकदेखि नै संघीय यातायात मन्त्रालयसँग छ। तर, यसको दैनिक सञ्चालन र पुनर्विकास जिम्मा स्थानीय गैर–नाफामूलक संस्था युनियन स्टेशन पुनर्विकास निगमलाई दिइएको थियो।

गत वर्षदेखि भने राष्ट्रिय यात्री रेल सेवा एमट्र्याकले उप–पट्टामा लिएर स्टेशनको व्यवस्थापन गरिरहेको छ। एमट्र्याकमा अमेरिकी सरकारकै प्रमुख हिस्सेदारी छ र यसको बोर्ड सदस्य राष्ट्रपति ट्रम्पले नै नियुक्त गर्ने गर्छन्।

नयाँ योजनाअनुसार मन्त्रालय, एमट्र्याक र पुनर्विकास निगमबीचको सहकार्य सम्झौतामा फेरबदल गरिनेछ। तर, व्यावसायिक गतिविधिहरू भने अझै गैर–नाफामूलक संस्थाकै प्रत्यक्ष व्यवस्थापनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ।

गत वर्ष अन्तिम रूप दिइएको १३ वर्षे, ८ दशमलव ८ अर्ब डलर बराबरको पुनर्निर्माण योजना अहिले प्रश्नमा परेको छ। नयाँ नियन्त्रण र व्यवस्थापन मोडलले यसलाई प्रभावित पार्छ कि पर्दैन भन्ने अझै प्रस्ट छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै सातादेखि राष्ट्रपति ट्रम्पले संघीय राजधानीमा अपराध नियन्त्रण, घरविहीन बस्ती हटाउने, सार्वजनिक स्थलको सौन्दर्यकरण गर्ने र यातायात सुरक्षामा सुधार ल्याउने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका छन्।

आदेशअनुसार सेक्रेटरी डफीलाई शहरले यातायात कर्मचारीहरूको सुरक्षामा आवश्यक कदम चालिरहेको छ वा छैन भनेर जाँच गर्न र आवश्यक सुधारात्मक कारबाही गर्न निर्देशन दिइएको छ।

ट्रम्पको आदेशपछि अहिले राजधानीका भूमिगत रेल स्टेशनहरूमा र युनियन स्टेशन वरिपरिको क्षेत्रमा नेशनल गार्डहरू समेत तैनाथ गरिएको छ।

सन् १९०७ मा निर्माण गरिएको यो ऐतिहासिक स्टेशन अमेरिकाको ब्यूक्स-आर्ट्स शैलीको प्रमुख नमुना मानिन्छ। प्रत्येक वर्ष लाखौँ यात्रु यस स्टेशन हुँदै वाशिङ्टन आउँछन्। ट्रम्प प्रशासनले यसलाई “राजधानीको प्रवेशद्वार” भनेर व्याख्या गर्दै यसको पुनर्जीवनलाई प्राथमिकतामा राखेको छ।

डफीले अन्त्यमा भने, “हामी यस्तो वातावरण बनाउन चाहन्छौं जहाँ व्यवसायले लगानी गर्न चाहून्, समुदायलाई सेवा मिलोस् र वाशिङ्टन आउने यात्रुहरूले विश्वस्तरीय सुविधा अनुभव गर्न सकून्।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com