३० वर्षदेखि अमेरिकामा बस्दै आएकी आमालाई आइसले पक्राउ गरेपछि सन्तानको बिचल्ली


प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार

तस्वीर स्रोत : गोफन्डमी

३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी एक थाई महिला अहिले सम्भावित निर्वासनको जोखिममा परेकी छिन्। इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अगष्ट ७ मा अलास्काको फेयरबैंकसबाट उनलाई नियन्त्रणमा लिएपछि परिवार र स्थानीय समुदायमा आक्रोश बढेको छ।

४२ वर्षीया आचारि बुन्टो आफ्नो ग्रीन कार्ड (कानूनी स्थायी आवास अनुमति) प्राप्त गर्ने प्रक्रियामा थिइन्। उनको परिवारले उनलाई सहयोग जुटाउन गोफन्डमी पेज सुरु गरेको छ। उनलाई वासिङ्टन राज्यको टाकामास्थित नर्थवेस्ट डिटेन्सन सेन्टरमा राखिएको छ ।

परिवारका अनुसार, बुन्टोलाई आमाका लागि सामान किन्न गएको बेला एजेन्टहरूले बाटोमै रोकेर गाडीबाट उतारेर पक्राउ गरेका थिए । उनी हिरासतमा परेपछि पाँच सन्तानसहितको उनको परिवार आर्थिक र मानसिक संकटमा परेको छ।

बुन्टो ११ वर्षको उमेरमा आमा भिसानी बुनागसँग थाइल्यान्डबाट अमेरिका आएकी थिइन्। सुरुमा अलाबामामा बसाइँ सरेकी उनी पछि अलास्काको फेयरबैंकस पुगेकी थिइन्, जहाँ उनकी आमाले सञ्चालन गरेको रेस्टुरेन्ट अझै पनि चलिरहेको छ।

बुन्टोकी आमाले ग्रीन कार्ड पाए पनि छोरीका लागि आवेदन नदिएको परिवार बताउँछ। १८ वर्षको उमेरमा बुन्टोले अमेरिकी नागरिकसँग विवाह गरेर पहिलो सन्तान जन्माइन्। उनीहरूका पाँच बच्चा भए तर पछि छुट्टिए। दोस्रो विवाहबाट उनले अर्को बच्चा जन्माइन्।

बुन्टो ग्रीन कार्डका लागि आवेदन दिइरहेकी थिइन्। तर २०१५ मा उनले अलास्का पर्मानेन्ट फन्ड लाभांश आवेदनमा अमेरिकी नागरिक भएको झूटो दाबी गरेको अभियोगमा दोषी ठहरिएकी थिइन् । यही मुद्दा अहिले उनको ग्रीन कार्ड प्रक्रियामा ठूलो बाधक बनेको छ।

उनका पूर्व पतिको केही हप्ता अघि अलाबामामा निधन भएपछि उनका बच्चाहरू अन्तिम विदाइका लागि पुगेका थिए। तर, केही दिनमै आमा बुन्टो आइसको हिरासतमा परेकी हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघिल्लो अपराध वा इमिग्रेशन उल्लङ्घनमा संलग्न भएकालाई विशेष निगरानीमा राख्दै ग्रीन कार्ड र नागरिकता प्रक्रियामा कडाइ गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार, बुन्टो टाकामास्थित आइसको हिरासत केन्द्रमा रहँदा स्थानीय समुदायले उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका थिए। धेरैले दशकौँदेखि अमेरिका बस्दै आएकी महिलालाई यसरी अचानक हिरासतमा लिनु अन्यायपूर्ण भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com