रूसले युक्रेन युद्धमा ‘महत्वपूर्ण सम्झौता’ गरेको अमेरिकी उपराष्ट्रपति भान्सको दाबी


प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले रूसले युक्रेनसँगको युद्धलाई वार्ता–आधारित समाधानतर्फ अघि बढाउने उद्देश्यले महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्। उनले यो कदम तीन वर्षदेखि जारी युद्धको क्रममा पहिलो पटक भएको बताउँदै शान्ति प्रक्रियामा प्रगति भइरहेकोमा आफू विश्वस्त रहेको बताए।

एनबीसीको चर्चित कार्यक्रम ‘मिट द प्रेस विथ क्रिस्टेन वेल्कर’ मा बोल्दै भान्सले भने, “राष्ट्रपति पुटिनले केही महत्त्वपूर्ण सम्झौता गरेका छन्, जसमा युक्रेनलाई भविष्यमा हुने सम्भावित रूसी आक्रमणविरुद्ध सुरक्षाको ग्यारेन्टी दिने कुरा पनि सामेल छ।”

भान्सका अनुसार रूसले सुरुमा राखेको किभमा कठपुतली सरकार बसाल्ने माग त्यागेको छ। उनले थपे, “उनीहरूले बुझेका छन्, किभमा आफ्नो नियन्त्रणमा हुने सरकार बसाल्न सकिँदैन। त्यही सुरुमा उनीहरूको ठूलो माग थियो। अझ महत्त्वपूर्ण कुरा भनेको उनीहरूले युक्रेनको भौगोलिक अखण्डताको सुरक्षा ग्यारेन्टी रहने कुरा स्वीकार गरेका छन्।”

यसैबीच, रूसी विदेशमन्त्री सेर्गेई लावरोभले आइतवार प्रसारित अन्तर्वार्तामा संयुक्त राष्ट्र सुरक्षा परिषदका सदस्य राष्ट्रहरूलाई युक्रेनको सुरक्षा ग्यारेन्टर बन्नुपर्ने बताएका छन्।

शुक्रवार राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताभित्र युक्रेनमा शान्तिपूर्ण समाधानतर्फ प्रगति नभएमा रूसमाथि नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। गत हप्तामात्र अलास्कामा पुटिनसँग भएको भेटपछि आएको उनको यो चेतावनीले मॉस्कोप्रति असन्तोष झल्काएको मानिएको छ।

भान्सले प्रतिबन्धहरू “केस–बाइ–केस” आधारमा विचार गरिने बताएका छन् ।

भान्सले हालै ट्रम्प प्रशासनले भारतमाथि लगाएको २५ प्रतिशत थप शुल्कलाई पनि उल्लेख गर्दै भने, “भारतले रूसी तेल खरिद गरेको कारण त्यस्तो कदम चालिएको हो। यस्तो प्रकारको आर्थिक दबाब शान्ति प्रक्रिया अघि बढाउन प्रयोग हुनेछ।”

भान्सले अन्त्यमा भने, “राष्ट्रपति ट्रम्पले प्रष्ट बनाउन खोजेका छन् कि यदि रूसले हत्या रोक्यो भने उसलाई पुनः विश्व अर्थतन्त्रमा स्वागत गर्न सकिन्छ। तर यदि हत्या रोकिएन भने, रूस अलग रहनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com