युक्रेनको स्वतन्त्रता दिवसमा क्यानाडाद्वारा सहायता घोषणा, ट्रम्पका विशेष दूतलाई सम्मान


प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार (अगस्ट २४) कीभको ऐतिहासिक सोफिया स्क्वायरमा भव्य समारोहबीच स्वतन्त्रता दिवस मनाए। सो अवसरमा क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीले सहभागिता जनाउँदै युक्रेनलाई आगामी महिनामा १ अर्ब क्यानाडियन डलर (करिब ७२३ मिलियन अमेरिकी डलर) भन्दा बढी सैन्य सहायता दिने घोषणा गरे। यो सहायता गत महिनामै सार्वजनिक गरिएको प्याकेजअन्तर्गत प्रदान गरिने हो।

रूसको युक्रेनमाथिको पूर्ण आक्रमणलाई साढे तीन वर्ष बितिसकेको अवस्थामा राष्ट्रपति जेलेन्स्की कूटनीतिक दबाबको सामना गरिरहेका छन्। वाशिङ्टनले उनलाई रूससँग केही सम्झौता गर्न दबाब दिइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रूसबीच शान्ति सम्झौता गराउने पहललाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन्।

जेलेन्स्कीले कीभको सोफिया स्क्वायरमा उपस्थित पाहुनाहरूलाई सम्बोधन गर्दै भने, “हामी सबै यस युद्धको अन्त्यले युक्रेनका लागि स्थायी शान्तिको ग्यारेन्टी होस् भन्नेमा काम गरिरहेका छौँ। युद्ध वा युद्धको खतरा हाम्रो सन्तानले विरासतका रूपमा नपाओस् भन्ने हाम्रो आकांक्षा हो।”

समारोहमा क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीको उपस्थितिले विशेष महत्व पायो। यसैगरी, राष्ट्रपति ट्रम्पका विशेष दूत कीथ केलोग पनि कार्यक्रममा सहभागी भए। जेलेन्स्कीले केलोगलाई युक्रेन सरकारको तर्फबाट उच्च राज्य सम्मान प्रदान गरे। सम्मान ग्रहणका क्रममा जेलेन्स्कीले उनलाई पदक हस्तान्तरण गर्दै भने, “हामीलाई शान्ति चाहिन्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जेलेन्स्कीले युद्धले युक्रेनलाई चर्को मानवीय मूल्य चुकाएको स्वीकार गरे । तर, अन्तिमसम्म लड्ने दृढता व्यक्त गरे।

यसैबीच, युक्रेनले युरोपेली सहयोगीहरूसँग मिलेर युद्धपश्चात् सुरक्षाको दीर्घकालीन ढाँचा तयार गर्न पहल थालेको छ। राष्ट्रपति ट्रम्पले पनि यसबारे खुलेर समर्थन जनाएका छन्।

क्यानाडाको नयाँ प्रधानमन्त्री बनेपछि मार्क कार्नीको यो पहिलो युक्रेन भ्रमण हो। उनको उपस्थिति र सहायता घोषणाले युक्रेनलाई थप अन्तर्राष्ट्रिय समर्थन मिल्ने अपेक्षा गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com