अमेरिकी रक्षामन्त्री हेगसेथले हटाए गुप्तचर एजेन्सी प्रमुखसहित अन्य वरिष्ठ सैनिक, कारण के ?


प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ । तस्बिर : रासस/ एपी

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले पेन्टागनको गुप्तचर एजेन्सी (डिआइए)का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुजलाई पदबाट हटाएका छन्। यो कदम अमेरिकी हवाई आक्रमणले इरानमा पार्ने प्रभावको समीक्षा गर्ने रिपोर्टको ह्वाइट हाउसबाट आलोचना भएपछि केहि हप्ताभित्र आएको हो।

डिआइएका प्रमुख क्रुजका साथै, पेन्टागनले दुई अन्य वरिष्ठ सैनिक कमाण्डरहरूलाई पनि पदमुक्त गरेको छ। हालसम्म रक्षा मन्त्रालयले पदमुक्तिको कुनै स्पष्ट कारण सार्वजनिक गरेको छैन।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनसँग सम्बन्धित देखिन्छ। यसअघि ट्रम्पले लीक भएको डिआइए रिपोर्टको आलोचना गर्दै इरानमाथि आक्रमणले यसको आणविक कार्यक्रमलाई केवल केही महिना मात्र ढिला गरेको बताएका थिए।

ह्वाइट हाउसले उक्त रिपोर्टलाई “पूर्ण रूपमा गलत” भनेको थियो। ट्रम्पले इरानका आणविक स्थलहरू “पूर्ण रूपमा ध्वस्त” भएको दाबी गरेका थिए । साथै, उनले मिडियालाई “इतिहासकै सबैभन्दा सफल सैनिक आक्रमणहरूलाई बेइज्जत पार्ने प्रयास” गरेको आरोप लगाएका थिए।

त्यस समयमा नाटो शिखर सम्मेलनमा बोल्दै, हेगसेथले रिपोर्टलाई “कमजोर गुप्तचर सूचनामा आधारित” भनेका थिए र डिआइएले लीकको छानबिन गरिरहेको जानकारी दिएका थिए।

डिआइए पेन्टागनको एक हिस्सा हो, यसले सैनिक सञ्चालनलाई समर्थन गर्न ठूलो मात्रामा गुप्तचर जानकारी संकलन गर्दछ। यस एजेन्सीले सीआइए जस्ता अन्य एजेन्सीबाट अलग रहँदै प्राविधिक र सैनिक जानकारी संकलनमा विशेषज्ञता राख्छ।

स्रोतका अनुसार, हेगसेथले अमेरिकी नौसेना रिजर्भका प्रमुख र नौसेना विशेष युद्ध कमाण्डका कमाण्डरलाई पनि हटाउन आदेश दिएका थिए।

क्रुजको बर्खास्तगीले ट्रम्पसँग “गुप्तचरलाई देशको सुरक्षा भन्दा विश्वासको परीक्षणको रूपमा हेर्ने खतरनाक बानी” रहेको संकेत गरेको संयुक्त राज्य सेनेटर मार्क वार्नरले बताएका छन् ।

ट्रम्पले यसअघि पनि विश्लेषणमा असहमति देखाउने अधिकारीहरूलाई हटाइसकेका छन्। जुलाईमा, उनले श्रम सांख्यिकी आयोगका एरिका म्याकेन्टार्फरलाई “तत्काल” पदमुक्त गर्न आदेश दिएका थिए, जब रोजगार वृद्धिदर सुस्त भएको रिपोर्ट सार्वजनिक भएको थियो। अप्रिलमा, ट्रम्पले राष्ट्रिय सुरक्षा एजेन्सीका निर्देशक जनरल टिमोथी हफ र ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का दर्जनौं कर्मचारीलाई पदबाट हटाएका थिए।

हेगसेथले पनि पेन्टागनमा धेरै सैनिक अधिकारीहरूलाई हटाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com