युक्रेनी राष्ट्रपतिको आरोप – ‘रुसले म र पुटिनबीचको सम्भावित भेट रोक्न प्रयास गरिरहेको छ’


प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसले आफू र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित भेटवार्ता रोक्न सक्दो प्रयास गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार कीभमा नाटोका महासचिव माक रुटेसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, “रुसले यो बैठक हुन नदिन सक्दो प्रयास गरिरहेको छ। यो बैठक युद्ध अन्त्य गर्ने उपायहरूमध्ये एक हो, तर उनीहरू युद्ध अन्त्य गर्न चाहँदैनन्।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पुटिनसँग भएको फोन वार्तापछि जेलिन्स्की–पुटिन भेटको तयारी सुरु भएको बताएका छन्। उनले युक्रेनमा भइरहेको “रक्तपात अन्त्य गर्ने” प्रतिबद्धता दोहोर्‍याएका छन्।

तर, रुसका विदेशमन्त्री सेर्गेई लावरोभले भने यस्तो शिखर बैठकका लागि कुनै एजेन्डा तयार नभएको दाबी गरेका छन्। उनले एक अन्तर्वार्तामा भने, “पुटिन तब मात्र जेलिन्स्कीसँग भेट गर्न तयार छन्, जब शिखर सम्मेलनको एजेन्डा तयार हुन्छ। तर अहिले यो कतै पनि तयार छैन।”

रुसले २०२२ मा सुरु गरेको पूर्णस्तरीय आक्रमणपछि हजारौँ युक्रेनी नागरिक मारिएका छन्। लडाइँ अझै जारी छ, दुबै पक्षले ऊर्जा पूर्वाधारमाथि पनि आक्रमण गरिरहेका छन्।

रुसले लामो समयदेखि युक्रेनलाई पूर्वका दुई क्षेत्र छोड्नुपर्ने अडान लिँदै आएको छ भने दक्षिणका दुई क्षेत्रमा मोर्चा स्थिर राख्ने प्रस्ताव गरेको छ। साथै, आफूले नियन्त्रण गरिरहेका स–साना भूभागहरू युक्रेनलाई फिर्ता दिने सम्भावनाबारे पनि संकेत गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com