श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ
प्रकाशित मिति : भाद्र ५, २०८२ शुक्रबार
श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् ।
प्रहरीको अपराध अनुसन्धान विभागले राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो । ७६ वर्षीय विक्रमसिंघे आफ्नी पत्नीको स्नातक समारोहमा सहभागी हुन लन्डन भ्रमण गरेको विषयमा भइरहेको अनुसन्धानअन्तर्गत बयान दिन राजधानी कोलम्बोस्थित विभागको कार्यालय पुगेका थिए ।
बयानका क्रममा नै उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विक्रमसिंघे वकिल पेशाबाट राजनीतिमा प्रवेश गरेका हुन् । सन् २०२२ मा श्रीलङ्काको गम्भीर आर्थिक संकटका बेला उनले राष्ट्रपति पद सम्हालेका थिए । सो समय व्यापक विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोतबाया राजपाक्षे देश छाडेर भाग्न बाध्य भएका थिए र अन्ततः राजीनामा दिएका थिए ।
त्यसपछि संयुक्त राष्ट्रिय पार्टी (यूएनपी)का नेता विक्रमसिंघे राष्ट्रपतिमा नियुक्त भएका थिए ।








