सहानुभूति र विनम्र व्यवहारले प्रसिद्ध अमेरिकी न्यायाधीश क्याप्रियोको ८८ वर्षको उमेरमा निधन


प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार

अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ । सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गरेका थिए ।

साना कानूनी उल्लङ्घनहरूमा उनको सहानुभूतिपूर्ण दृष्टिकोणले उनलाई विशेष बनाएको थियो ।

“प्यानक्रिएटिक क्यान्सरसँग लामो र साहसी सङ्घर्षपछि परिवार र साथीहरूको घेरामा मेरा पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भएको समाचार साझा गर्दा म गहिरो दुःखी छु”, उनका छोरा डेभिड क्याप्रियोले बुधबार न्यायाधीशको इन्स्टाग्राम खातामा पोस्ट गरिएको भिडियोमा भने ।

उनको परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बनेको’ र ‘मानवताको उत्कृष्ट उदाहरण’ भएका उल्लेख गरिएको छ ।

मङ्गलबार, अस्पतालको शय्याबाट स्वास्थ्यमा ‘गम्भीर समस्या’ आएको भन्दै उनले प्रार्थना माग्दै भिडियो पनि पोस्ट गरेका थिए ।

सन् २००० मा सुरु भएको उनको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ मा ट्राफिक उल्लङ्घन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उनले देखाएको दयालु व्यवहारलाई दर्शाइएको थियो ।

सो कार्यक्रमका क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भए । त्यहाँ प्रायः उनले सङ्घर्षरत परिवारहरूको जरिवाना खारेज गरेको वा बालबालिकाहरूलाई आफ्ना आमाबाबुको सजाय निर्णयमा सहभागी हुन दिएको देखिन्थ्यो ।

उनले सामाजिक सञ्जालमा लाखौँ अनुयायी प्राप्त गरे । तिनीहरूले उनलाई ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर सम्बोधन गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्याप्रियोले ‘कम्प्यासन इन द कोर्टः लाइफ–चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज’ शीर्षकमा आत्मकथा पनि प्रकाशित गरेका थिए ।

सन् १९३६ मा जन्मिएका क्याप्रियो प्रोभिडेन्स, रोड आइल्यान्डमा हुर्किए । आफ्नो प्रारम्भिक जीवनमा उनले जुत्ता पालिस गर्ने र पत्रिका वितरण गर्ने जस्ता काम गरेका थिए ।

बोस्टनको सफोक युनिभर्सिटी स्कुल अफ लमा अध्ययन गर्दा उनी दिनमा स्कुल शिक्षकको रूपमा काम गर्थे । अन्ततः सन् १९८५ देखि २०२३ सम्म प्रोभिडेन्स नगरपालिका अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गरे ।

रोड आइल्यान्डका गभर्नर डान म्याकीले क्याप्रियोलाई ‘न्यायविद मात्र नभई सहानुभूतिका प्रतीक’ भन्दै प्रशंसा गरे। उनले भने, “उहाँले हामीलाई जब न्याय मानवतासँग मिसिन्छ, तब असाधारण सम्भावनाहरू खुल्छन् भनेर देखाउनुभयो ।”

गभर्नरले न्यायाधीशको सम्झनामा राज्यको झण्डा आधा झुण्ड्याउने आदेश पनि दिएका छन् ।

उनको परिवारले भनेको छ, “उहाँलाई एक सम्मानित न्यायाधीश मात्र नभई मायालु पति, बुबा, हजुरबुबा र साथीका रूपमा पनि सधैँ सम्झिनेछौँ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com