४४ वर्षदेखि अमेरिका बस्दै आएका ग्रिनकार्ड धारक आप्रवासन चेक-इनको क्रममै आइसको नियन्त्रणमा


प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका भियतनामका शरणार्थी चुओङ डोङलाई अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले पक्राउ गरेका छन् । उनलाई आइस अधिकारीहरूले स्यान डियागोमा वार्षिक आप्रवासन चेक-इनको क्रममा पक्राउ गरेको हुन् । दशकौं पुरानो अपराधको कारण जारी गरिएको निर्वासन आदेशका कारण डोङ हिरासतमा परेका हुन्।

डोङ सन् १९८१ मा १२ वर्षको उमेरमा भियतनामबाट शरणार्थीको रूपमा अमेरिका आएका थिए। त्यतिनै समयमा उनले ग्रीन कार्ड प्राप्त गरे। १९८९ मा डोङले डकैतीको दोष स्वीकार गरे । साथै, पछि अर्को चोरीको आरोपपछि प्रोबेशन उल्लङ्घन भएको पाइएको थियो। यसले उनलाई जेल सजायमा पुऱ्यायो। आइसका अनुसार डोङले डकैती, चोरीजस्ता अपराधका लागि पाँच वर्षभन्दा बढी जेल भोगेका थिए।

आइसले डोङलाई त्यसबेला पक्राउ गर्यो, जब उनको वार्षिक चेक-इनमा कियोस्कले जानकारी चिन्न सकेन। उनलाई ओटे मेशा डिटेन्सन सेन्टरमा स्थानान्तरण गरिएको छ। आइसले डोङलाई कागजातबिहीन विदेशी र बारम्बारका अपराधी भनेर वर्णन गरेको छ।

डोङकी पत्नी क्रिस्टी हुयिन्ह, जो अमेरिकी नागरिक हुन् । उनले आफुहरू २० वर्षभन्दा बढी समयदेखि विवाहित रहेको र दुई सन्तान पनि अमेरिकी नागरिक रहेको बताइन् । उनले भनिन्, “उनी जेल सजाय भोगेपछि नयाँ, फरक व्यक्ति बने।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोङका नजिकका मित्र हङ हुयिन्हले कैलिफोर्निया राज्यपाल गाभिन न्युसमसँग सहयोगको लागि अपील गरेका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, “चुओङले आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन गरेका छन् । हाम्रो समुदायमा ठूलो योगदान दिएका छन्। उनको पक्राउले हाम्रो परिवारमा ठूलो कठिनाइ ल्याएको छ र समुदायमा खालीपन सिर्जना गरेको छ।”

लिङ्क्डइन पृष्ठ अनुसार डोङले आफ्नो कम्पनी, डोङ निरीक्षण सेवा एलएलसीमार्फत ११ वर्षभन्दा बढी समयसम्म विभिन्न निर्माण परियोजनासँग सम्बन्धित निरीक्षण सेवा सञ्चालन गरेका छन्।

परिवारले सन् १९८९ को दोषमाथि खारेजको माग गर्दै सिफारिस पत्र र अदालतमा मोशन पेश गरेका छन्। सुनुवाइ २६ अगस्टमा स्यान डियागो काउन्टी कोर्टमा तय गरिएको छ। डोङका वकिल एडम क्लग्म्यानका अनुसार, “उनी दोष स्वीकार गर्दा प्रक्रियामा मूलतः त्रुटि थियो र उनले सचेत रूपमा परिणाम बुझेर स्वीकार गरेका थिएनन्। लगभग ४० वर्षपछि उनी परिणामको सामना गर्दैछन्, जुन दुर्भाग्यपूर्ण छ।”

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासीमाथि कडा नीति लागूको बीच आएको हो, जहाँ दशकौं पुरानो अपराध वा नियमित आप्रवासन प्रक्रिया पालन गर्दा पनि लामो समयदेखि बसोबास गर्ने नागरिकहरूलाई हिरासतमा राखिने घटना बढिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com