न्युयोर्कको अदालतबाटै ६ वर्षीया छोरी, १९ वर्षीय छोरासहित आमा पक्राउ, देशनिकालाको आदेश


प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार

न्युयोर्कको म्यानह्याटनस्थित आप्रवासन अदालतमा सामान्य चेक–इनका लागि पुगेका एक इक्वेडोरियन परिवारलाई अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले नाटकीय शैलीमा पक्राउ गरेका छन्। पक्राउ पर्नेमा ६ वर्षीया बालिका, उनका १९ वर्षीय दाजु र आमा रहेका छन्।

उक्त परिवार १२ अगस्टका दिन २६ फेडेरल प्लाजामा नियमित प्रक्रियाका लागि पुगेको थियो। तर अचानक आइसका अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिएर हिरासतमा पठाए।

यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिसँग जोडिएको मानिएको छ। ट्रम्प प्रशासनले आधिकारिक कागजातबिना अमेरिकामा बसोबास गरिरहेका लाखौँ आप्रवासीलाई देशनिकाला गर्ने योजना अघि सारेको छ। ह्वाइट हाउसले आधिकारिक कागजातबिना बस्ने जो–कोहीलाई ‘अपराधी’ को हैसियतमा मानिने स्पष्ट गरेको छ।

यस प्रकारका व्यापक धरपकड र देशनिकालका कारण आइस अमेरिकाभित्रकै सबैभन्दा विवादास्पद निकाय बनेको छ। आलोचकहरूले यसलाई मानवीय दृष्टिकोणविरुद्धको कठोर कदम भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जनवरीमा अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन एजेन्सीलाई संवेदनशील क्षेत्र मानिने अदालत, स्कुल, र अन्य सार्वजनिक सेवास्थलहरूमा समेत कारबाही गर्न अनुमति दिएको थियो। यसअघि यी ठाउँहरूलाई कारबाही–मुक्त क्षेत्र मानिन्थ्यो। यसले आप्रवासीहरूलाई आवश्यक सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको थियो।

पक्राउ परेकी आमाको नाम मार्था भनेर सार्वजनिक गरिएको छ। उनी आफ्नी छोरी डाइरा र छोरा म्यानुएलसँगै इक्वेडरको हिंसात्मक अवस्थाबाट बच्न २०२२ को डिसेम्बरमा अमेरिका पुगेकी थिइन्।

सानो छोरी डाइरा क्वीन्सस्थित पीएस एक् ८९, जोस पेराल्टा स्कूल अफ ड्रीमर्समा अध्ययन गर्छिन्।

एड्भोकेसी समूह मी त्लालीकी संस्थापक मारिपोसा बेनिटेजले भनिन्, “मार्थाजस्ता परिवारहरू आफ्नो ज्यान जोगाउन यहाँ आएका हुन्छन्। तर यहाँ पक्राउ परेपछि उनीहरू झनै ठूलो मानसिक आघात भोग्छन्।”

पक्राउ परेपछि परिवारलाई छुट्टाछुट्टै हिरासतमा पठाइएको छ। आमा मार्था र छोरी डाइरालाई टेक्सासको डिले डिटेन्सन सेन्टरमा पुर्‍याइएको छ भने छोरा म्यानुएललाई न्यु जर्सीको नेवार्कस्थित डेलानी हलमा सारिएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले भनिन्, “डिले डिटेन्सन सेन्टर परिवारका लागि तयार गरिएको हो। बच्चासहितका अभिभावकलाई सुरक्षित, स्वास्थ्य र सुरक्षासहितको सुविधा दिइन्छ।”

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको विवरणअनुसार, उक्त परिवार अवैधानिक रूपमा डिसेम्बर २०२२ मा अमेरिकामा प्रवेश गरेको थियो। आप्रवासन न्यायाधीशले उनीहरूलाई अन्तिम देशनिकाला आदेश जारी गरिसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com