अमेरिकी प्रहरी विभागमै काम गरेका विदेशी अधिकारी निर्वासन टार्दै स्वेच्छाले देश छाड्ने तयारीमा
प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार
तस्वीर स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)
मेन राज्यका एक प्रहरी अधिकारीलाई अमेरिकी आप्रवासन अधिकारीहरूले पक्राउ गरेपछि उनले स्वेच्छाले अमेरिका छाड्ने सहमति जनाएका छन्। अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले इभान्सको स्वेच्छिक प्रस्थानबारे जानकारी दिएको हो।
ओल्ड अर्चर्ड बिच प्रहरी विभागका रिजर्भ अफिसर जमैकाका जोन लुक इभान्सलाई गत जुलाई २५ मा आइसले आप्रवासन नियन्त्रणलाई कडाइ गर्ने अभियान अन्तर्गत पक्राउ गरेको थियो। संघीय अधिकारीहरूले यसअघि नगर र प्रहरी विभागलाई इभान्सलाई अमेरिकामा काम गर्ने वैधानिक अनुमति छ भनी जानकारी दिएका थिए।
एपीसँग कुराकानी गर्दै आइसका एक प्रतिनिधिले भने, “न्यायाधीशले इभान्सलाई स्वेच्छाले देश छाड्न आदेश दिएका छन् । उनले सोमबारदेखि नै प्रस्थान गर्न सक्नेछन्।” प्रतिनिधिले इभान्ससम्बन्धी अन्य विवरण सार्वजनिक गरेनन्।
इभान्सको गिरफ्तारीपछि ओल्ड अर्चर्ड बिच नगर प्रशासन र आइसबीच विवाद उत्पन्न भएको छ। प्रहरी प्रमुख एलिस चार्डले भने, “हामीलाई संघीय अधिकारीहरूले इभान्स वैधानिक रूपमा अमेरिका काम गर्न पाउने व्यक्ति हुन् भनेका थिए। नगरले उनको रोजगारी अघि नै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको ई-भेरिफाइ प्रणालीमार्फत जानकारी पेस गरेको थियो।”
तर, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले नगर प्रशासनमाथि “ई-भेरिफाइ प्रणालीमा लापरबाह विश्वास गरेको” आरोप लगाइन्।
ई-भेरिफाइ भनेको अनलाइन प्रणाली हो, जसले अमेरिकी नियोक्ताले सम्भावित कर्मचारी कानुनी रूपमा काम गर्न सक्ने कि नसक्ने भनेर जाँच गर्न सहयोग गर्छ।
चार्डले सोमबार जारी गरेको विज्ञप्तिमा भने, “नगरलाई इभान्सले स्वेच्छाले अमेरिका छाड्ने योजना बनाएको थाहा छ। नगरले संघीय र राज्य कानुनको पालना गर्न निरन्तर प्रतिबद्धता जनाउँछ। हामी आई-९ रोजगारी पात्रता प्रमाणीकरण फाराम र ई-भेरिफाइ प्रणालीमार्फत रोजगार पुष्टि गर्न जारी राख्नेछौं।”
आइसको बन्दी सूची वेबसाइटअनुसार सोमबारसम्म इभान्सलाई रोड आइल्याण्डको सेन्ट्रल फल्सस्थित डोनाल्ड डब्ल्यू वायट हिरासत केन्द्रमा राखिएको देखाइएको थियो। तर, वायटका एक प्रतिनिधिले भने, “उनलाई म्यासाचुसेट्सको बर्लिङटनस्थित आइसको केन्द्रमा सारिएको हो।” यस विषयमा आइस अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
इभान्सलाई वकिलले प्रतिनिधित्व गरिरहेका छन् कि छैनन् भन्ने स्पष्ट हुन सकेको छैन। हिरासत केन्द्रमा छाडिएको सन्देशलाई उनले जवाफ पनि दिएका छैनन्।
आइस अधिकारीहरूले गत जुलाईमा इभान्समाथि भिसाको अवधि नाघेको र अवैधानिक रूपमा हतियार खरिद गर्न खोजेको आरोप लगाएका थिए।








