ट्रम्पको आशा : पुटिनले युक्रेन युद्ध अन्त्यतर्फ कदम चाल्लान्, तर शान्ति सम्भावना अनिश्चित


प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्यतर्फ कदम चाल्ने आशा व्यक्त गरेका छन् । तर, रुसका लागि “कठिन स्थिति” सिर्जना गर्ने सम्भावना रहेकोले पुटिनले सम्झौता गर्न नचाहेको उनले बताए ।

फक्स न्युजको “फक्स एन्ड फ्रेन्ड्स” कार्यक्रममा दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी अर्को केही हप्तामा पुटिनको रणनीति स्पष्ट हुने आशा गर्छौं। साँचो कुरा भन्नुपर्दा, मलाई लाग्दैन यो समस्या हुनेछ। मलाई लाग्छ पुटिन यसबाट थकित छन्।”

ट्रम्पले अमेरिकी सैनिक युक्रेनमा पठाउने सम्भावना अस्वीकार गरे । उनले युद्धपश्चात सुरक्षा ग्यारेन्टीबारे कुनै स्पष्ट विवरण दिएनन्। राष्ट्रपति ट्रम्पले पुटिनले शान्ति नगरेमा रूस र यसका तेल खरिद गर्ने राष्ट्रमाथि थप प्रतिबन्धहरू लगाइने चेतावनी दिए ।

सोमबारको ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा युक्रेन र युरोपेली सहयोगीहरूले ट्रम्पको सुरक्षा ग्यारेन्टीको आश्वासनबाट उत्साह पाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ८० वर्षमा युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्यतर्फको “ठूलो कदम” भएको बताउँदै आगामी हप्ताहरूमा पुटिन र ट्रम्पसँग त्रिपक्षीय बैठकको तयारीतर्फ संकेत गरे।

तर विश्लेषकहरू अनुसार युद्ध अन्त्यका लागि मार्ग अझै अनिश्चित छ। २०२२ को फेब्रुअरीमा सुरु भएको रूसको पूर्ण आक्रमणको कारण युक्रेनमा १० लाखभन्दा बढी नागरिक मारिएका वा घाइते भएका छन्।

युक्रेनी हवाई सेनाले मंगलबार जनाएको अनुसार रूसले रातभरि २७० ड्रोन र १० मिसाइल आक्रमण गरेको थिए, जसले मध्य पोल्टाभा क्षेत्रमा रहेका ऊर्जा प्रतिष्ठानहरूलाई लक्षित गरेको थियो।

पूर्व ब्रिटिश रक्षा अटाशे जोन फोरम्यानले भने, “राम्रो कुरा यो छ कि ह्वाइट हाउसमा कुनै ठुलो विवाद भएन। वातावरण सकारात्मक थियो र ट्रान्सअटलान्टिक गठबन्धन कायम छ। तर, सुरक्षा ग्यारेन्टीको प्रकृति अझै अनिश्चित छ।”

युक्रेनका सहयोगीहरूले मंगलबार “कोएलिशन अफ द विलिङ” ढाँचामा छलफल गर्ने योजना बनाएका छन् भने नाटोका रक्षा प्रमुखहरूले पनि युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषयमा छलफल गर्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com