ट्रम्प-जेलेन्स्की वार्ताअघि युक्रेनमाथि रुसी आक्रमण
प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युक्रेनी नागरिकहरूलाई लक्षित गर्दै ‘निन्दनीय’ आक्रमण गरेको आरोप लगाएका छन् । उनले वाशिङटनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने वार्तालाई कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको बताएका हुन् ।
युक्रेनका अधिकारीहरूका अनुसार, उत्तर सहर खार्किभस्थित आवासीय क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ, जसमा एक वर्षीया बालिका पनि परेकी छन् । त्यस्तै, जापोरिझियामा भएको आक्रमणमा थप तीन जनाको मृत्यु भएको छ ।
“यो प्रदर्शनात्मक र निन्दनीय रूसी आक्रमण थियो,” राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे ।
उनले थपे, “रूसी युद्ध मेसिनले जीवनहरू नष्ट गरिरहेकै छ । पुटिनले युक्रेन र युरोपमाथि दबाब कायम राख्न र कूटनीतिक प्रयासलाई अपमानित गर्न प्रदर्शनात्मक हत्या गर्नेछन् ।”
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प युरोपको ८० वर्षकै सबैभन्दा घातक युद्ध अन्त्य गर्न युक्रेनलाई शान्ति सम्झौतामा सहमत गराउन दबाब दिइरहेका छन् ।
ट्रम्पले सोमबार दिउँसो वाशिङटनस्थित ओभल अफिसमा राष्ट्रपति जेलेन्स्कीलाई भेट्नेछन् । त्यसपछि बेलायत, जर्मनी, फ्रान्स, इटाली, फिनल्याण्ड, युरोपेली संघ र नाटोका नेताहरूसँग ह्वाइट हाउस भेटवार्ता गर्ने कार्यक्रम छ ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै युक्रेनले २०१४ मा रसियाले कब्जा गरेको क्राइमिया फिर्ता गर्ने आशा त्याग्नुपर्ने र नाटोमा प्रवेश गर्ने आकांक्षा पनि छोड्नुपर्ने सुझाव दिएका छन् । यसले जेलेन्स्कीमाथि ठूलो दबाब सिर्जना गर्ने विश्लेषकहरू बताउँछन् ।








