रुस-युक्रेनबीच शान्ति सम्झौताका लागि दुवै पक्षको सम्झौता अनिवार्य : अमेरिकी विदेशमन्त्री
प्रकाशित मिति : श्रावण ३२, २०८२ आईतबार
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस-युक्रेन युद्ध अन्त्यका लागि दुबै पक्षले सम्झौता गर्नुपर्ने बताएका छन् ।
आइतबार उनले भने, “शान्ति सम्झौता तब मात्र सम्भव हुन्छ जब दुबै पक्षले केही सम्झौता गर्छन्, अन्यथा त्यसलाई आत्मसमर्पण मात्र भनिन्छ । कुनै पनि पक्ष आत्मसमर्पण गर्न तयार छैन।”
अलास्कामा हालै सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता केही प्रगतिशील भए पनि अझै ठूला असहमतिको मुद्दा बाँकी रहेको उनले बताए ।
रुबियोले युद्धविराम सम्भावनाबारे प्रश्नमा भने, “यो सजिलो छैन, तर अस्वीकार पनि गरिएको छैन । अन्ततः हाम्रो लक्ष्य भनेको पूर्ण शान्ति सम्झौता हो, केवल अस्थायी युद्धविराम होइन।”
उनका अनुसार युद्ध साढे तीन वर्षदेखि जारी छ र दुबै पक्ष गहिरो रूपमा अडिग छन् । यदि शान्ति सम्झौता भएन भने रुसले म्भीर परिणाम भोग्नुपर्ने रुबियोले चेतावनी दिए । यद्यपी, अमेरिकी पक्षले युद्धको अन्त्यलाई नै प्राथमिकता दिने स्पष्ट पारेको छ ।








