अलास्का जाँदै गरेका ट्रम्पले भने – ‘म आजै युद्धविराम देख्न चाहन्छु’


प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा शिखर सम्मेलन हुँदैछ। दोस्रो विश्वयुद्धयता युरोपमा सबैभन्दा घातक मानिएको युद्ध अन्त्य गर्ने उद्देश्यसहित आयोजना हुने यस बैठकमा ट्रम्पले “आजै युद्धविराम” देख्न चाहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई छलफलमा निमन्त्रित नगरेको कारण युक्रेन र उनका यूरोपेली साझेदारहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले डोनाल्ड ट्रम्पले युक्रेनको केही भूभाग रुसको नियन्त्रणमा रहेको मान्यता दिन सक्ने सम्भावना रहेको आशंका गरेका छन्।

तर, ट्रम्पले एयर फोर्स वन चढ्दा भने, “म यहाँ युक्रेनको तर्फबाट वार्ता गर्न आएको होइन, म तिनीहरूलाई टेबुलमा ल्याउन आएको हुँ।” उनले सम्भावित भौगोलिक साटासाटको निर्णय युक्रेनमाथि नै निर्भर हुने बताए।

पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, “म युद्धविराम देख्न चाहन्छु‘ । यदि आज त्यो भएन् भने म खुशी हुने छैन् । म हत्याहरू रोक्न चाहन्छु।”

अमेरिकी र रुसका राष्ट्रपतिहरूको भेट अलास्काको सबैभन्दा ठूलो शहरमा रहेको कोल्ड वार युगको एयर फोर्स बेसमा बिहान ११ बजे (१९०० जीएमटी) हुने छ। यो ट्रम्पको ह्वाइट हाउस फर्किएपछिको पुटिनसँगको पहिलो आमनेसामने वार्ता हो।

ट्रम्पले युद्धविरामले उनलाई विश्व शान्ति निर्माता भनेर प्रमाणित गर्ने र नोबेल शान्ति पुरस्कारको योग्य ठहराउने अपेक्षा गरेका छन्। पुटिनका लागि भने शिखर सम्मेलनले पश्चिमी प्रयास असफल भएको देखाउने ठूलो सफलता रहेको छ।

रुसका विशेष दूत किरिल ड्मित्रिभका अनुसार, दुई नेताहरूले युक्रेनमात्र नभई द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल गर्नेछन्। ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नु अपेक्षाभन्दा कठिन कार्य साबित भएको स्वीकारेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com