वाशिङ्टनमा शक्ति संघर्ष, प्रहरी विभाग कब्जा गर्न खोजेको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा
प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार
अमेरिकी राजधानी वाशिङ्टनले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध शहरको प्रहरी विभाग कब्जा गर्न खोजेको आरोपमा संघीय अदालतमा मुद्दा दायर गरेको छ।
डी.सी.का महान्यायाधिवक्ता ब्रायन श्वाल्बले, ट्रम्प प्रशासनले ड्रग एनफोर्समेन्ट एजेन्सी (डीईए) का प्रमुख टेरी कोललाई वाशिङ्टनका आपतकालीन प्रहरी आयुक्तका रूपमा नियुक्त गरेको केही घण्टापछि, उक्त कदमलाई चुनौती दिँदै कानुनी कारबाही अघि बढाएका हुन्।
श्वाल्बका अनुसार, मुद्दाको उद्देश्य ट्रम्पको शहरको प्रहरी विभागमाथि नियन्त्रण लिने कदम गैरकानुनी भएको न्यायालयबाट घोषित गराउनु हो। यसबारे सुनुवाइ शुक्रबार अपराह्न २ बजे हुने तय गरिएको छ।
यो कदम अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले बिहीबार साँझ शहरको प्रहरी नियन्त्रण डीईएका कोललाई सुम्पने आदेश जारी गरेपछि आएको हो। ट्रम्पले यसअघि वाशिङ्टनमा सयौं नेशनल गार्ड पठाएर राजधानीमा रहेको “अपराधको आपतकालीन अवस्था” नियन्त्रण गर्ने घोषणा गरेका थिए, यद्यपि तथ्यांकले हिंसात्मक अपराधमा कमी देखाएको छ।
बन्डीको आदेशअनुसार, करिब ३,५०० सदस्यीय प्रहरी बललाई कुनै पनि निर्देशन दिनुअघि कोलको स्वीकृति लिनुपर्नेछ, साथै प्रहरी विभागका केही अघिल्ला निर्देशनहरू खारेज गर्ने पनि प्रयास गरिएको छ।
श्वाल्बले सामाजिक सञ्जालमा भनेका छन्, “यो डीसीको गृह शासनमा अहिलेसम्म परेको सबैभन्दा ठूलो खतरा हो । हामी यसलाई रोक्न लडिरहेका छौं।”
सन् १९७३ को डीसी होम रुल ऐनले राष्ट्रपति विशेष आपतकालीन परिस्थितिमा ३० दिनसम्म डीसी प्रहरी नियन्त्रण गर्न सक्ने प्रावधान राखे पनि कानुनी विज्ञहरूले ट्रम्पको कदम उक्त अधिकारको सीमा नाघेको दाबी गरेका छन्।








