एयर क्यानडाले उडान स्थगित गर्न थाल्यो, दैनिक १ लाख ३० हजार यात्रु प्रभावित हुने
प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार
क्यानाडाको सबैभन्दा ठूलो विमान सेवा प्रदायक एयर क्यानडाले आफ्ना उडानहरू स्थगित गर्न थालेको छ ।
क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोईजसँगको वार्ता असफल भएपछि एयर क्यानडाले यो निर्णय लिएको हो ।
युनियनले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै हडतालको घोषणा गरेपछि एयर क्यानडाले उडानहरू रोक्ने निर्णय गरेको हो । यस हडतालले एयर क्यानडाका करिब १०,००० फ्लाइट अटेन्डेन्टहरूलाई प्रभाव पार्नेछ।
यो उडान स्थगितले दैनिक १ लाख ३० हजार यात्रुहरूलाई असर गर्नेछ, जसमध्ये करिब २५ हजार क्यानेडियन नागरिक रहेका छन्।
रद्द भएका उडानका यात्रुहरूलाई कम्पनीले सूचना दिने र पूर्ण रकम फिर्ता गर्ने जनाएको छ । साथै, कम्पनीले अन्य विमान सेवाहरूसँग मिलेर वैकल्पिक यात्राको व्यवस्था गर्न प्रयास गरिरहेको छ।
एयर क्यानडाले सम्भावित उडान रोक्का हुनुअघि नै विमान र चालकदललाई सुरक्षित स्थानमा राख्ने, नियमित मर्मत सम्भार गर्ने र सेवा छिट्टै सुरु गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ यो निर्णय लिएको बताएको छ।
युनियनले आफूले इमानदारीका साथ वार्ता गरे पनि एयर क्यानडाले तलब वृद्धि र बिना पारिश्रमिक हुने कामजस्ता मुख्य माग सम्बोधन नगरेको आरोप लगाएको छ ।
एयर क्यानडाले पनि ७२ घण्टाको लकआउट नोटिस जारी गर्दै, युनियनको प्रस्तावमा “अत्यधिक वृद्धि”को माग भएको र बाध्यकारी तेस्रो पक्षको मध्यस्थतामा जाने प्रस्ताव अस्वीकार गरिएको दाबी गरेको छ । हड्ताल शनिबार बिहान बाट सुरु हुनेछ।
एयर क्यानडाले ६४ देशमा २५९ वटा विमानसहित सेवा दिइरहेको छ । यो आकस्मिक बन्दले कम्पनी र कर्मचारी दुवैका लागि “ठूलो जोखिम” ल्याउने चेतावनी एयर क्यानडाले दिएको छ ।
एयर क्यानडा र एयर क्यानडा रूजका पहिलो उडानहरू बिहीबार रद्द गरिनेछन् । शुक्रबार थप उडानहरू पनि रोकिने सम्भावना छ।
शनिबारदेखि “पूर्ण उडान बन्द” सुरु हुनेछ । तर, एयर क्यानडा एक्सप्रेसको उडान भने प्रभावित हुने छैन ।








