क्यानडाको विद्यालय क्षेत्रमा गोलीकाण्ड, कम्तीमा ९ जनाको मृत्यु


प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार

क्यानडामा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तमा रहेको उच्च विद्यालय र नजिकैको आवासीय भवनमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

यो घटना पछिल्ला केही दशकयताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डमध्ये एक भएको प्रहरीले जनाएको छ।

रोयल क्यानडियन माउन्टेड पुलिसका अनुसार टम्बलर रिज सेकेन्डरी स्कुलमा गोलीकाण्ड भएको हो। त्यहाँ छ जना मृत अवस्थामा भेटिएका थिए। दर्जनौँ घाइते भएका थिए। घाइतेमध्ये एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

संदिग्ध आक्रमणकारी पनि घटनास्थलमै मृत फेला परेका थिए। उनले आफैँलाई गोली हानेको अनुमान गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई जना घाइतेको गम्भीर अवस्थामा उपचार भइरहेको छ। २५ जना अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टम्बलर रिज पश्चिमी क्यानडामा रकी पर्वतको फेदीमा अवस्थित करिब २,४०० जनसङ्ख्या भएको सानो ग्रामीण सहर हो। यो स्थान अमेरिका–क्यानडा सीमाबाट करिब ६८० किलोमिटर टाढा पर्छ।

क्यानडामा सामूहिक गोलीकाण्ड अत्यन्त दुर्लभ मानिन्छ, किनकि त्यहाँ अमेरिकाको तुलनामा कडा बन्दुक कानुन लागू छन्।

स्मल आर्म्स रिसर्च परियोजनाअनुसार अमेरिकामा प्रति १०० व्यक्तिमा १२१ वटा बन्दुक रहेका छन् भने क्यानडामा प्रति १०० व्यक्तिमा करिब ३५ वटा मात्र बन्दुक रहेको अनुमान छ। प्रहरीले हाल सर्वसाधारणका लागि कुनै थप खतरा नरहेको जनाएको छ।

प्रान्तीय वेबसाइटका अनुसार टम्बलर रिज सेकेन्डरी स्कुलमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थी अध्ययनरत छन्। प्रहरीले हाल गोलीकाण्डको कारणबारे अनुसन्धान गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com