२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
अन्तर्राष्ट्रिय

घण्टौंको अवरोधपछि माइक्रोसफ्टको सेवामा क्रमिक सुधार, विश्वभरका लाखौं प्रयोगकर्ता प्रभावित

Photo: Simon Ray/ Unsplash

माइक्रोसफ्टको सेवामा आएको घण्टौं लामो प्राविधिक अवरोधका कारण विश्वभरका लाखौं प्रयोगकर्ता प्रभावित भएका छन्। आउटलुक इमेल, टिम्स र कोपाइलट जस्ता अत्यावश्यक कार्यालय उपकरणहरू अवरुद्ध हुँदा विभिन्न देशका बैंक, अदालत, स्वास्थ्य सेवा र सरकारी कार्यालयहरूको कामकाज ठप्पप्रायः बनेको छ।

कम्पनीले पछिल्लो समय सेवा पुनःस्थापनामा उत्साहजनक प्रगति भइरहेको र इमेल आदानप्रदानको गतिमा क्रमिक सुधार आइरहेको जनाएको छ। यद्यपि, अझै पनि केही प्रयोगकर्ताहरूले प्राविधिक समस्या भोगिरहेको गुनासो गरेका छन्। माइक्रोसफ्टका कार्यकारी अधिकृत चार्ल्स लामान्नाले यो अवरोध कुनै साइबर आक्रमण वा ह्याकिङका कारण नभएको स्पष्ट पारेका छन्। ढिलाइ भएका सन्देशहरू सुरक्षित राख्न कम्पनीले इमेल ‘टाइमआउट विन्डो’ लाई ४८ घण्टासम्म लम्ब्याएको छ।

अवरोध ट्र्याक गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’ का अनुसार समस्या सुरु भएको करिब एक घण्टामै ७४ देश तथा क्षेत्रबाट गुनासोहरू दर्ता भएका थिए। अमेरिकाको तल्लो सदन सहित विभिन्न सहरका सरकारी कार्यालय र प्रहरी विभागहरूको इमेल प्रणाली अवरुद्ध हुँदा कैदीहरूको धरौटी प्रक्रियासमेत ढिलाइ भएको छ। त्यस्तै, बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवाको इमेल प्रणालीमा समस्या आउँदा बिरामीहरूको औषधि सिफारिस प्रभावित हुने देखिएको छ भने त्यहाँका प्रहरीले वेबसाइटको साटो टेलिफोनमार्फत उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसैगरी, अस्ट्रेलियाका विद्यालय र अदालत, फिलिपिन्सको सर्वोच्च अदालत तथा जापानका सरकारी मन्त्रालयहरूमा समेत इमेल सेवा अवरुद्ध हुँदा कर्मचारीहरूले कागजी प्रतिलिपि निकालेर काम चलाउनुपरेको छ। हङकङस्थित मोर्गन स्ट्यानली र गोल्डम्यान स्याक्सजस्ता ठूला बैंकका कर्मचारीहरूले पनि काममा अवरोध भोगेका छन्। जर्मनीको ‘डच बान’ र क्यानडाको ‘भिया रेल’ जस्ता रेल सेवाहरूको तालिका र टिकटसम्बन्धी इमेल सूचनामा समेत ढिलाइ भएको छ।

माइक्रोसफ्टको अवरोधले ओपनएआईको च्याटजीपीटीका केही उपकरणमा समेत असर पारेको छ। अर्कोतर्फ, गुगलको जिमेल र गुगल मिट जस्ता सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेकाले गुगल प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक मिमहरू सेयर गरिरहेका छन्। केही प्रयोगकर्ताले माइक्रोसफ्ट ३६५ लाई वर्षको एक दिन सेवा बन्द भएको भन्दै ‘माइक्रोसफ्ट ३६४’ को संज्ञा दिएर ठट्टासमेत गरेका छन्।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →