ट्रम्पले भने – पुटिनसँगको पहिलो बैठक सफल भए दोस्रो बैठकमा जेलेन्स्की पनि सहभागी हुन्छन्


प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो बैठक सफल भएमा दोस्रो बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने बताएका छन् ।

उनले बुधबार पत्रकारहरूसँग कुरा गर्दै पहिलो बैठक राम्रो भए दोस्रो बैठकमा पुटिनसँगै जेलेन्स्कीलाई समेत सहभागी गराएर छलफल गर्ने बताए । उनले पहिलो बैठक सफल भए दोस्रो बैठक छिट्टै आयोजना गर्ने पनि जिकिर गरे

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, “पहिलो बैठक ठिक भएमा हामी छिटो दोस्रो बैठक गर्नेछौँ। म तत्कालै गर्न चाहन्छु, यदि उनीहरूले मलाई त्यहाँ चाहन्छन् भने उक्त बैठक पुटिन, जेलेन्स्की र म बीच बैठक हुनेछ ।”

यद्यपि, उनले दोस्रो बैठकको समय सीमा भने खुलाएका छैनन्। पहिलो बैठक यही शुक्रबार हुने तय भएको छ।

ट्रम्पले पुटिनले युद्ध अन्त्यमा सहमति नगरेमा रुसले परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए। उनले परिणामबारे विस्तृत खुलासा नगरे पनि प्रगति नभएमा कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

यसअघि ट्रम्पले युरोपेली नेताहरू र जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्दै बैठकका विषयमा छलफल गरेका थिए। उनले उक्त वार्तालाई “१० मध्ये १० अङ्कको र अत्यन्तै मैत्रीपूर्ण” भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com