फ्रान्सका राष्ट्रपतिले भने – भूभागसम्बन्धी वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुने ट्रम्पको चाहना


प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको कुनै पनि युद्धविराम सम्झौतामा भूभागसम्बन्धी वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुने बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार ट्रम्पको यो भनाइ सार्वजनिक गरेका हुन्।

ट्रम्प, युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको वार्ताबाट निस्किएको यो पहिलो ठोस संकेत हो, जसको उद्देश्य शुक्रबार अलास्कामा हुने ट्रम्प–पुटिन बैठकको एजेन्डा तय गर्नु थियो।

यदि ट्रम्पको अडान पुष्टि भयो भने, यो युक्रेन र उसका पश्चिमी सहयोगीहरूका लागि राहतको विषय बन्नेछ। ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युरोप र युक्रेनको सुरक्षा हितलाई बेवास्ता गर्दै भूभाग बाँडफाँडको सम्झौता हुन सक्ने उनीहरूलाई डर छ ।

अलास्कामा हुने भेटवार्ता साढे तीन वर्षदेखि जारी दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा ठूलो युद्ध अन्त्य गर्ने प्रयासको हिस्सा हो । ट्रम्पले लडाइँ रोक्न दुवै पक्षले भूभाग साट्नुपर्ने कुरा अघि सारेका छन्। यो युद्धमा अहिलेसम्म हजारौंको ज्यान लिएको छ भने लाखौं मानिस विस्थापित भएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनीमा युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा सहभागी भई त्यसपछि ट्रम्पसँग छलफल गरेका छन्। युरोपेली पक्षले भूभाग साटासाटको योजना रुसलाई युक्रेनको झण्डै पाँचौँ हिस्सा दिलाउने र भविष्यमा पुटिनलाई अझ पश्चिमतिर विस्तार गर्न प्रोत्साहन दिने आशंका व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com