ट्रम्प प्रशासनको कडा नीतिको प्रभाव : अमेरिकी आप्रवासन हिरासतमा ६० हजारबढी, नयाँ रकेर्ड


प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार

अमेरिकामा आप्रवासन हिरासतमा रहेका व्यक्तिहरूको संख्या ६० हजार नाघ्दै नयाँ रेकर्ड कायम भएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को आन्तरिक अभिलेखअनुसार यो संख्या ट्रम्प प्रशासनको पहिलो कार्यकालमा बनेको रेकर्डलाई तोड्दै सबैभन्दा उच्च स्तरमा पुगेको हो।

यो वर्षको सुरुवातमा करिब ३९ हजार मात्र आप्रवासी हिरासतमा रहेका थिए। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा गिरफ्तारी र निर्वासन अभियान तीव्र बनाइएपछि संख्या तीव्र गतिमा बढेको हो। शुक्रबारदेखि सोमबारसम्म मात्रै ११०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको छ, जसको औसत दैनिक करिब ३८० जना हुन्छ।

२००३ मा आइस गठन भएयता आप्रवासीलाई हिरासतमा राख्ने क्षमता लगातार बढ्दै आएको छ। २० वर्षअघि दैनिक औसत ७ हजार मात्र आप्रवासी हिरासतमा थिए। हालको गणना प्रणाली सुरु भएपछिको अघिल्लो उच्च रेकर्ड सन् २०१९ अगस्टमा ५५,६५४ थियो।

जनवरीमा अधिकांश गिरफ्तारी सीमा, बन्दरगाह र विमानस्थलको निगरानी गर्ने भन्सार र सीमा सुरक्षा (कस्टम्स एन्ड बोर्डर प्रोटेक्शन)बाट भएका थिए। तर अहिले आइसले देशको भित्री क्षेत्रमा छापा मार्दै गिरफ्तारीको ठूलो हिस्सा गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। प्रशासन र रिपब्लिकन-नियन्त्रित राज्यहरूले आप्रवासीलाई पक्राउ, हिरासत र निर्वासन गर्ने क्षमतामा ठूलो लगानी गरेका छन्। कांग्रेसले पनि आइसको बजेट ८ अर्ब डलरबाट बढाएर करिब २८ अर्ब डलर पुर्‍याएको छ।

सेनाको संलग्नता पनि बढ्दै गएको छ। ट्रम्पले पुनः कार्यभार ग्रहण गरेपछि पेन्टागनले कोलोराडोको सैनिक बेसमा आप्रवासी राख्ने अनुमति दियो र केहीलाई क्युबाको ग्वान्टानामो बेस पठाइयो। हालै टेक्सासको सैनिक बेसमा ५,००० जनाको क्षमता हुने नयाँ हिरासत केन्द्र निर्माण भइरहेको घोषणा गरिएको छ।

गत महिनाको अन्त्यतिर, प्रशासनले आप्रवासन सुविधा स्थलमा राष्ट्रिय गार्ड तैनाथ गर्ने अनुमति दियो, जसलाई धेरैले सैन्य अभियान र गृह आप्रवासन कार्यान्वयनको प्रत्यक्ष संयोजनको रूपमा हेरेका छन्।

आप्रवासी अधिकारकर्मीहरूले यस कदमको कडा आलोचना गरेका छन्। राष्ट्रिय आप्रवासन कानुन केन्द्रकी अध्यक्ष किका माटोसले भनिन्, “ट्रम्प प्रशासनले आप्रवासी समुदायलाई आतंकित पार्ने अभूतपूर्व आकारको र निर्दय हिरासत प्रणाली निर्माण गर्दैछ।”

विश्लेषकहरूका अनुसार अहिलेको हिरासत दर अघिल्ला प्रशासनको तुलनामा निकै उच्च छ र ओबामाको समयमा भन्दा झन्डै दोब्बर गैरनागरिकहरू हाल हिरासतमा छन्। तर, प्रशासन अझै पनि १ लाख हिरासत बेडको आफ्नो लक्ष्यमा पुग्न सकेको छैन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com