“भिसा उल्लङ्घन गर्नुभयो ? अब जीवनभर अमेरिकी भिसा बिर्सनुहोस् !”


प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार

काठमाडौंस्थित अमेरिकी दूतावासले भिसाको अवधि उल्लङ्घन नगर्न कडा चेतावनी दिएको छ। दूतावासले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो भिसामा उल्लेखित अनुमति अवधिभन्दा बढी समय अमेरिकामा नबस्न आग्रह गरेको हो ।

दूतावासले भिसामा उल्लेखित अनुमति अवधिभन्दा बढी समय पनि अमेरिकामै बसेको खण्डमा आजीवन अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइने चेतावनी दिएको छ । दूतावासले चेतावनी दिँदै भनेको छ, “यदि तपाईँ आफ्नो भिसामा दिइएको अनुमति अवधिभन्दा बढी समय अमेरिकामा बस्नुहुन्छ भने तपाईँलाई स्थायी रूपमा आजीवन अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइने सम्भावना रहन्छ।”

यस्तै, अमेरिकी दूतावासले कन्सुलर अधिकृतहरूले सम्पूर्ण आप्रवासन इतिहास हेर्न र अघिल्ला उल्लङ्घनबारे पनि जानकारी प्राप्त गर्ने भन्दै भिसाको चेतावनी दिएको हो । दूतावासले ‘इमानदार गल्ती’ भन्ने बहाना मान्य नहुने स्पष्ट पार्दै भिसा सही तरिकाले प्रयोग गर्नु व्यक्तिको जिम्मेवारी भएको बताएको छ ।

दूतावासले भनेको छ, “कन्सुलर अधिकृतहरूले तपाईँको सम्पूर्ण आप्रवासन इतिहास हेर्न र अघिल्ला उल्लङ्घनबारे पनि जानकारी प्राप्त गर्न सक्नेछन्। ‘इमानदार गल्ती’ भन्ने कुरा मान्य हुँदैन किनभने भिसा सही तरिकाले प्रयोग गर्नु तपाईँको जिम्मेवारी हो ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेसँगै अमेरिकी दूतावासले पटक पटक भिसालाई सही तरिकाले प्रयोग गर्न आग्रह गदै आएको छ । दूतावासले अमेरिकी भिसा पाइसकेपछि समयमै अमेरिकाबाट नफर्किए भिसा रद्द हुने चेतावनी दिँदै आएको हो ।

दूतावासले यसअघि पनि चेतावनी दिँदै भनेको थियो, “तपाईँको भिसालाई सही तरिकाले प्रयोग गर्नु तपाईँको जिम्मेवारी हो। यदि तपाईँ समयमै अमेरिकाबाट फर्किनु भएन वा भिसाका सर्तहरूको उल्लङ्घन गर्नुभयो भने, तपाईँको भिसा रद्द हुन सक्छ । अमेरिकाबाट फर्काइने सम्भावना हुन सक्छ, र भविष्यमा भिसा प्राप्त गर्न गाह्रो पर्न सक्छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com