२३ वर्षदेखि अमेरिकामा बस्दै आएका ग्रिनकार्ड धारक विमानस्थलबाटै पक्राउ


प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार

अमेरिकामा बसोबास गर्दै आएका फिलिपिनी आप्रवासी र ग्रीन कार्डधारी सन्नी लास्क्विट विगतको लागूऔषध मुद्दाका कारण अमेरिकी विमानस्थलमा पक्राउ परेका छन्। उनी अहिले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा रहेका छन्।

लास्क्विटलाई जुलाई २८ मा बहामास भ्रमणपछि फर्किँदै गर्दा अमेरिकाको कस्टम्स एण्ड बर्डर प्रोटेक्सन (सीबीपी) ले उत्तर क्यारोलिनाको चार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको हो। उनका आफन्तहरूका अनुसार, उनको गिरफ्तारी २०१२ को लागूऔषध मुद्दासँग सम्बन्धित संघीय प्रणालीको चेतावनी संकेत (रेड फ्ल्याग) का कारण भएको हो।

न्यूज वीकका अनुसार, लास्क्विट हाल जर्जियाको स्टुअर्ट काउन्टीस्थित स्टुअर्ट डिटेन्सन सेन्टरमा रहेका छन्। यस घटनाले कानूनी रूपमा स्थायी बसोबासी भए पनि प्रवेश बिन्दुमा पक्राउ परेपछि आप्रवासन कानुनको कार्यान्वयनको सामना गर्नुपर्ने हुन सक्ने देखाएको छ । यसले विगतका आपराधिक सजायहरू दीर्घकालीन आप्रवासीहरूका लागि कस्तो परिणाम ल्याउन सक्छ भन्ने बहसलाई पुनः चर्काएको छ।

लास्क्विट करिब २३ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए र लास भेगासमा भोज सेवकको रूपमा काम गर्दै आएका थिए। अदालतका अभिलेख अनुसार, उनले सन् २०१० देखि २०१२ सम्म अनुसूची ५ अन्तर्गत पर्ने लागूऔषधहरू (डाएजेपाम, अल्प्राजोलाम, जोलपिडेम र क्यारिसोप्रोडोल) वितरण गर्ने उद्देश्यले कब्जामा राखेका थिए।

तर उनले आफ्नो गल्ती स्वीकार्दै संघीय सरकारलाई अभियुक्त तथा गैर-अभियुक्त, सह-साजिशकर्ताहरूको पहिचानमा सहयोग गरेका थिए। तत्कालीन अमेरिकी अटर्नी प्रीत भराराले सन् २०१४ मा दिएको बयानमा लास्क्विटको सहयोगले लागूऔषध वितरण रोक्न मद्दत गरेको र अरू अभियुक्तहरूको अभियोजनमा योगदान पुगेको बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com