युरोपेली राष्ट्रहरूको एक स्वर – ‘युक्रेनको भविष्य युक्रेनीहरूले नै तय गर्नुपर्छ’
प्रकाशित मिति : श्रावण २७, २०८२ मंगलबार
युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूले युक्रेनी जनताले आफ्नो भविष्य आफैं तय गर्ने स्वतन्त्रता पाउनु अनिवार्य रहेको बताएका छन् । यो अभिव्यक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने वार्ताको पूर्वसन्ध्यामा आएको हो ।
ईयू नेताहरू र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग छलफल गर्ने योजना बनाएका छन् । यो बैठक वासिङ्टनले किभमाथि प्रतिकूल शान्ति सर्तहरू थोपर्न सक्ने आशङ्काबीच हुँदैछ, जसले हालसम्म युक्रेनलाई सबैभन्दा बढी हतियार आपूर्ति गर्दै आएको छ ।
हंगेरी बाहेकका सबै ईयू मुलुकका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “अर्थपूर्ण वार्ता केवल युद्धविराम वा द्वन्द्वमा कमी आउने सन्दर्भमा मात्र सम्भव हुन्छ । कूटनीतिक समाधानले युक्रेन र युरोपका महत्त्वपूर्ण सुरक्षा हितहरू सुरक्षित गर्नुपर्छ ।”
ट्रम्पले शान्ति सम्झौतामा “रुस र युक्रेन दुवैको हितमा केही भू–भागको आदान–प्रदान” हुने संकेत दिएका छन्, जसले किभ र युरोपेली राजधानीहरूमा गम्भीर चिन्ता बढाएको छ ।
युक्रेनको “डिपस्टेट” युद्ध नक्सा अनुसार, रुसले हालै डोब्रोपिलिया नजिक दुई दिशाबाट करिब १० किलोमिटर उत्तरतर्फ प्रगति गरेको छ । यो डोनेत्स्क क्षेत्रको पूर्ण नियन्त्रण लिने प्रयासको हिस्सा हो ।
युक्रेनी पूर्वसैनिक विश्लेषक टाटारिगामीले २०१४ र २०१५ मा पनि रुसले वार्ताअघि ठूला आक्रमण गरी वार्तामा बलियो स्थिति बनाएको स्मरण गराएका छन् । उनका अनुसार अहिलेको अवस्था गम्भीर भए पनि कतिपयले दाबी गरेजस्तो पतनको चरणमा भने छैन ।
यसैबीच, युक्रेन सेनाले सोमबार सुमी क्षेत्रका दुई गाउँ पुनः नियन्त्रणमा लिएको दाबी गरेको छ, जुन दक्षिण–पूर्वमा रुसको लामो समयको सुस्त प्रगतिको सन्दर्भमा सानो तर महत्त्वपूर्ण कदम हो ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो । यस वर्ष पुटिनले सुमीमा “बफर जोन”को माग गर्दै नयाँ आक्रमण थालेका छन् ।








