अलास्कामा हुने ट्रम्प-पुटिन बैठकमा जेलेन्स्कीलाई पनि सहभागी गराउने तयारी


प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार

अलास्कामा आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बैठकलाई लिएर नयाँ राजनीतिक गतिविधि तीव्र बनेको छ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले उक्त बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने पहल भइरहेको बताएका छन्।

भान्सका अनुसार अमेरिकाले तीन नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिरहेको छ । तर, उनले पुटिन–जेलेन्स्कीको भेट ट्रम्प–पुटिन वार्ताअघि हुनु उपयुक्त नहुने टिप्पणी गरे। “सबैभन्दा ठूलो अवरोध पुटिनको जेलेन्स्कीसँग नबस्ने अडान थियो, जुन राष्ट्रपति ट्रम्पले परिवर्तन गर्न सफल भएका छन्,” उनले भने।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रूसले युद्ध लम्ब्याउन, हत्या रोक्न अस्वीकार गर्न र भविष्यका आक्रमणका लागि लाभदायक स्थिति बनाउन खोजिरहेको आरोप लगाउँदै यस्तो व्यवहार तुरुन्त रोक्न आग्रह गरेका छन्। उनले युक्रेनसम्बन्धी निर्णयमा युक्रेनको अनिवार्य सहभागिता हुनुपर्ने पनि दोहोर्याए।

ट्रम्पले भने अलास्कामा पुटिनसँग युक्रेनी प्रतिनिधित्वबिनै भेट्ने तयारी गरेका छन्, तर अन्तिम क्षणमा निमन्त्रणाको सम्भावना खुला रहेको छ। उनले शान्ति सम्झौतामा “भूमि अदला–बदली”को विकल्पको संकेत गरेका छन् । तर, कीभले सुरक्षा ग्यारेन्टी वा हतियारबिनै भूमि छाड्ने प्रस्ताव अस्वीकार गरेको छ।

नाटो महासचिव मार्क रुट्टेले शुक्रबारको बैठकलाई पुटिन शान्तिका लागि कति गम्भीर छन् भन्ने परीक्षणको रूपमा व्याख्या गरेका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जले भने युरोपेली र युक्रेनी पक्षलाई बेवास्ता गरेर कुनै पनि भू–राजनीतिक सम्झौता अस्वीकार्य हुने चेतावनी दिएका छन्।

अमेरिकी नाटो राजदूत म्याथ्यु ह्विटेकरले जेलेन्स्की अझै पनि अलास्का बैठकमा सहभागी हुनसक्ने सम्भावना रहेको बताउँदै अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले गर्ने बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com