अमेरिका-रूस शिखर बैठकअघि पोल्यान्डको चिन्ता र आशा
प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेन युद्धबारे यस हप्ता हुने अमेरिका-रूस शिखर बैठकअघि आफू डर र आशाको मिश्रणमा रहेको बताएका छन् । सोमबार उनले अमेरिकी पक्षले बैठकअघि युरोपेली साझेदारहरूसँग परामर्श गर्ने वाचा गरेको बताए ।
अगस्ट १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा भेट्ने तय भएको छ। तर, कीभले चिन्ता व्यक्त गर्दै बैठकमा दुवै नेताले साढे तीन वर्ष लामो युद्ध अन्त्य गर्नका लागि सर्तहरू थोपर्न सक्ने आशंका रहेकोे जनाएको छ।
टस्कले ट्रम्पका हालका टिप्पणीहरूले उनी युक्रेनी र युरोपेली पक्षका तर्कहरू बुझ्न थालेको संकेत दिएको तर यो धारणा दीर्घकालीन हुनेछ भन्नेमा आफू पूर्ण रूपमा निश्चिन्त नरहेको बताए ।
शनिबार फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, बेलायत, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले ट्रम्पको युद्ध अन्त्य गर्ने प्रयासको स्वागत गर्दै रूसमाथि दबाब कायम राख्न र कीभलाई सुरक्षा ग्यारेन्टी दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
टस्कले भने – “युरोपेली नेताहरूको एकीकृत दृष्टिकोण स्पष्ट छ । राज्यको सीमा बलपूर्वक परिवर्तन गर्न पाइँदैन र रूसको युक्रेनमाथिको आक्रमणले आक्रमणकारीलाई कुनै फाइदा दिनु हुँदैन।”








