ट्रम्पले आणविक पनडुब्बी पुनः तैनाथ गर्न आदेश दिएपछि क्षेप्यास्त्र सन्धिबाट रूसले झिक्यो हात


प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार

रूसले अबदेखि मध्यम दूरीका क्षेप्यास्त्रहरूको तैनाथीमा रोक लगाउने ऐतिहासिक सन्धि आइएनएफ (मध्यवर्ती-दूरी आणविक बल)को पालना नगर्ने घोषणा गरेको छ। सोमबार रूसको विदेश मन्त्रालयले औपचारिक वक्तव्य जारी गर्दै उक्त सन्धिमा अब बाँधिनुपर्ने कुनै कारण नरहेको बताएको हो।

आइएनएफ सन्धि सन् १९८७ मा अमेरिका र तत्कालीन सोभियत संघबीच हस्ताक्षर गरिएको सम्झौता हो, जसले ५०० देखि ५,५०० किलोमिटर दूरीमा मार गर्न सक्ने जमिनबाट प्रक्षेपण हुने ब्यालिस्टिक र क्रूज मिसाइलहरूमा प्रतिबन्ध लगाएको थियो। यसअन्तर्गत २,६०० भन्दा बढी मिसाइलहरू नष्ट गरिएको थियो, जसलाई शीतयुद्धको अन्त्यतिरको एउटा महत्वपूर्ण उपलब्धि मानिएको थियो।

रूसी विदेश मन्त्रालयले अमेरिकामाथि आरोप लगाउँदै भनेको छ, वासिङ्टन र उसका सहयोगीहरू युरोप तथा एसियामा यस्ता क्षेप्यास्त्रहरू तैनाथ गर्ने तयारीमा छन्, जसका कारण रूसले अघिसम्म अपनाएको ‘एकतर्फी प्रतिबन्ध नीति’ अब समाप्त भएको हो।

यद्यपि वासिङ्टनले धेरै पहिले देखिनै रूसमाथि आइएनएफ सन्धिको उल्लंघन गरेको आरोप लगाउँदै आएको थियो। सन् २०१४ मा ओबामा प्रशासनले पहिलोपटक रूसले सम्झौता उल्लंघन गरेको औपचारिक आरोप लगाएको थियो। सन् २०१९ मा ट्रम्प प्रशासनले रूसले एसएससी- ८ मिसाइल (९ एम ७२९) तैनाथ गरेर सन्धि तोडेको दाबी गर्दै अमेरिका सन्धिबाट बाहिरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूसको यो निर्णय ट्रम्पले दुईवटा अमेरिकी आणविक पनडुब्बी पुनःतैनाथ गर्ने आदेश दिएपछि आएको हो। पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्भेदेभले सामाजिक सञ्जालमा आणविक धम्की दिएका थिए, जसको जवाफस्वरूप अमेरिका सक्रिय देखिएको छ।

स्रोतहरूका अनुसार, रूसले गत नोभेम्बरमा युक्रेनको एक शहरमा ‘ओरेश्निक’ नामक मध्यम दूरीको मिसाइल प्रहार गरेको थियो, जसले आइएनएफ सन्धिको दायराभन्दा बाहिरको दूरीमा मार गर्न सक्छ। राष्ट्रपति पुटिनले सो मिसाइल अब नियमित सेवामा आएको पुष्टि गर्दै यसलाई बेलारुसमा तैनाथ गरिने बताएका छन्। ओरेश्निक मिसाइल आणविक क्षमतायुक्त रहेको बताइन्छ।

यसैबीच, अमेरिकाले सन् २०२६ देखि जर्मनीमा मध्यम दूरीका मिसाइलहरू ‘अवसरअनुसार तैनाथ’ गर्ने योजना सार्वजनिक गरिसकेको छ। यसको जवाफस्वरूप रूसले ‘प्रत्युत्तर दिने’ चेतावनी दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com