एलन मस्कलाई टेस्लाको नेतृत्वमा टिकाइराख्न २९ बिलियन बराबरको सेयर उपहार


प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार

विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले आफ्ना सीईओ एलन मस्कलाई करिब २९ बिलियन अमेरिकी डलर बराबरको ९६ मिलियन सेयर प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीको अनुसार यो कदम मस्कलाई कम्पनीको नेतृत्वमा टिकाइराख्न तथा भविष्यमा उनको ध्यान टेस्लाको मिशनमा केन्द्रित गराउनका लागि लिइएको हो।

यसअघि, सन् २०१८ मा मस्कलाई दिइएको झण्डै ५० बिलियन डलर बराबरको पारिश्रमिक प्याकेज डेलावेयरको अदालतले खारेज गरेको थियो। अदालतले टेस्लाको बोर्डले उक्त प्याकेज पारित गर्दा शेयरधनीहरूलाई पर्याप्त ध्यान नदिएको भन्दै त्यो प्रक्रिया अनुचित रहेको ठहर गरेको थियो।

मार्च २०२५ मा मस्कले अदालतको उक्त निर्णयविरुद्ध अपिल दायर गरेका थिए, जहाँ उनले तल्लो अदालतको न्यायिक त्रुटि औंल्याउँदै पुनरावलोकनको माग गरेका छन्।

यसैबीच, टेस्लाको बोर्डले मस्कसँग सम्बन्धित पारिश्रमिक योजनाहरूको पुनरावलोकनका लागि विशेष समिति गठन गरेको जनाएको थियो। समितिले हाल सार्वजनिक गरेको दस्तावेजमा उल्लेख गरिएको छ, ूएलन मस्कका विविध व्यवसायिक चासो तथा व्यस्तता हुँदाहुँदै पनि, यो पुरस्कारले उनलाई टेस्लामा निरन्तर सक्रिय गराउने विश्वास गरिएको छ।ू

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो पुरस्कार योजना अनुसार, मस्कले प्रत्येक सीमित सेयरको लागि कम्पनीलाई २३ दशमलव ३४ डलर तिर्नुपर्नेछ, जुन सन् २०१८ को सीईओ अवार्ड अन्तर्गतको मूल्यसँग मेल खान्छ।

टेस्लाका सेयर मूल्यमा यो निर्णयले सकारात्मक प्रभाव पारेको देखिएको छ। कम्पनीको सेयर मूल्य पूर्व(बजार कारोबारमा २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।

मस्क हाल टेस्लाका सबैभन्दा ठूलो शेयरधनी हुन्, जसको स्वामित्वमा कम्पनीको करिब १३ प्रतिशत हिस्सा रहेको छ। कम्पनी अहिले सस्तो इभी (इलेक्ट्रिक सवारी) बनाउने योजनाबाट ध्यान हटाउँदै रोबोट्याक्सी र ह्युमानोइड रोबोट विकासमा केन्द्रित हुँदै गएको छ, जसले टेस्लालाई अब एआई र रोबोटिक्स कम्पनीको रूपमा समेत उभ्याउने संकेत दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com