राष्ट्रपति ट्रम्पले किन लगाए पूर्वराष्ट्रपति ओबामामाथि ‘देशद्रोह’ को आरोप ?
प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि ‘देशद्रोह’ को आरोप लगाएका छन् । उनले ओबामाले आफ्नो पहिलो कार्यकाललाई विफल पार्न र आफूलाई रुसी चुनाव हस्तक्षेपमा जोड्न षड्यन्त्र रचेको दाबी गरेका छन् ।
ट्रम्पले ह्वाइट हाउसमा भने, ‘ओबामाले २०१६ मा हिलारी क्लिन्टनलाई हराएर जितेको विजयलाई अस्वीकार गराउन खोजेका थिए।’ ओबामाका प्रवक्ताले ट्रम्पको आरोपलाई ‘अविवेकी र ध्यान मोड्ने कमजोर प्रयास’ भन्दै सार्वजनिक प्रतिक्रिया दिएका छन् ।
ट्रम्पको यो टिप्पणी अमेरिकी गुप्तचर प्रमुख टुल्सी गब्बार्डको रिपोर्टसँग सम्बन्धित रहेको थियो ।
गत हप्ता सार्वजनिक भएको उक्त रिपोर्टले ओबामा र उनको सुरक्षा टोलीले ‘ट्रम्पविरुद्ध वर्षौं लामो कू प्रयास’ गरेको आरोप लगाएको थियो । तर डेमोक्र्याटहरूले उक्त रिपोर्टलाई झूटो भनेर अस्वीकार गरेका छन ।
ओबामाका प्रवक्ता प्याट्रिक रोडनबशले भने, “राष्ट्रपति पदको सम्मानका लागि हामी सामान्यतया ह्वाइट हाउसबाट आउने हल्ला र गलत जानकारीलाई जवाफ दिँदैनौं । तर यो आरोप यति हास्यास्पद छ कि प्रतिक्रिया दिनैपर्ने भयो।”
डि क्लासिफाइ गरिएको अमेरिकी गुप्तचर रिपोर्टले ओबामाका सल्लाहकारहरूले २०१६ को चुनावमा रुसी साइबर हमला प्रभावकारी नभएको जानकारीलाई दबाएका दाबी गरिएको छ ।
२०१६ डिसेम्बर ८ को राष्ट्रपतिको डेली ब्रीफमा भनिएको थियोस् “हामी मूल्याङ्कन गर्छौं कि रुसी तथा आपराधिक समूहहरूले हालै सम्पन्न अमेरिकी चुनावको परिणाममा प्रत्यक्ष असर पुर्याउने साइबर क्रियाकलाप गरेका थिएनन्।”
यद्यपि एफबीआईले उक्त निष्कर्षमा असहमति जनाउँदै अर्को दिन ह्वाइट हाउसमा उच्च तहको बैठक बोलाइएको दाबी गरिएको छ । त्यसपछि ओबामा प्रशासनको निर्देशनमा नयाँ मूल्यांकन तयार पार्न खुफिया प्रमुखहरूलाई इमेल पठाइएको थियो।
गब्बार्डले यसलाई “राष्ट्रघाती षड्यन्त्र” को प्रमाण भनेकी छन् र ओबामा प्रशासनका अधिकारीहरूलाई न्याय मन्त्रालयमा उजुरी गर्ने चेतावनी दिएकी छन्।
तर ओबामाका प्रवक्ताले भने, “गत हप्ता सार्वजनिक गरिएको कुनै पनि कागजातले रुसी हस्तक्षेप भएको भन्ने सामान्य स्वीकार्य निष्कर्षलाई कमजोर पार्दैन।”
अमेरिकी गुप्तचर निकायहरूले २०१७ को रिपोर्टमा रुसी प्रयासले ट्रम्पलाई फाइदा पुर्याउने र हिलारी क्लिन्टनलाई हानि गर्ने उद्देश्य राखेको निष्कर्ष निकालेका थिए।
२०२० मा अमेरिकी सिनेटको द्विपक्षीय समितिले पनि रुसी हस्तक्षेप भएको र ट्रम्पलाई सहयोग पुर्याउने प्रयास गरिएको स्वीकारेको थियो।






