लस एन्जलस काउन्टी शेरिफको तालिम केन्द्रमा विस्फोट, कम्तीमा ३ डेपुटीको मृत्यु


प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार

लस एन्जलस काउन्टी शेरिफ विभाग अन्तर्गतको बिस्काइलुज तालिम केन्द्रमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा कम्तिमा तीन जना डेपुटी (सहायक प्रहरी अधिकृत) को मृत्यु भएको छ। उक्त घटना बिहान करिब साढे ७ बजे पूर्वी एभिन्यूमा रहेको तालिम केन्द्रमा भएको हो, जहाँ शेरिफको विशेष कार्यान्वयन ब्यूरो र बम डिस्पोजल टोली समेत कार्यरत छन्।

सुरक्षा स्रोतहरूका अनुसार उक्त विस्फोट त्यतिबेला भयो, जब बम स्क्वाडका अधिकारीहरूले केही विस्फोटक पदार्थहरू सार्ने काम गरिरहेका थिए। विस्फोटको कारण तत्काल प्रष्ट नभए पनि प्रारम्भिक विवरणअनुसार, बम स्क्वाडको कार्यसम्पादनकै क्रममा चुक वा अनपेक्षित प्रतिक्रिया हुन सक्ने आशंका गरिएको छ।

लस एन्जलस प्रहरी विभागको बम स्क्वाड तत्काल घटनास्थलमा पुगेको थियो । साथै, बाँकी सम्भावित विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने काममा जुटेको छ। सुरक्षा जोखिमका कारण सम्पूर्ण क्षेत्र खाली गराइएको छ।

विस्फोटले तालिम केन्द्रको मुख्य भवनमा गम्भीर क्षति पुर्‍याएको छ। केन्द्रबाट करिब २५ यार्ड पर रहेको एउटा एसयूभी गाडीको सबै झ्याल चुँडिएको रिपोर्ट गरिएको छ। घटनास्थललाई ठूलो टार्पले ढाकिएको छ र फोरेंसिक तथा विष्फोट विशेषज्ञहरू घटनाको अनुसन्धानमा जुटेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेरिफ विभागका प्रवक्ताले भने, “हामी अत्यन्त दुःखी छौं। यो हाम्रो विभागको लागि गहिरो क्षण हो। प्रारम्भिक अनुसन्धानले विस्फोटक पदार्थको हेरफेरका बेला कुनै समस्या आएको देखाएको छ तर विस्तृत विवरण अनुसन्धानपछि मात्रै आउँछ।”

हालसम्म मृतक तीन डिपुटीहरूको नाम सार्वजनिक गरिएको छैन । उनीहरूको परिवारलाई सूचित गरिसकेको जनाइएको छ।

विस्फोटपछि आसपासको सबै संरचनामा तत्काल सुरक्षा जाँच गरिएको छ। कुनै दोस्रो विस्फोटको जोखिम टार्न विशेष प्राविधिक टोली खटाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com