ट्रम्पको चेतावनीपछि अमेरिका र रुसबीचको सम्बन्ध फेरी चिसिएको हो ?
प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धसम्बन्धी रुसप्रति कडा चेतावनी दिएपछि दुई देशबीचको सम्बन्धमा पुनः चिसोपन आएको छ । यद्यपी, क्रेमलिनले भने ट्रम्पको चेतावनीले अमेरिका-रुसबीचका संवाद अन्त्य नहुने स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत सोमबार नयाँ रणनीति प्रस्तुत गर्दै मस्कोलाई ५० दिनभित्र युक्रेनमा युद्धविराम गर्न चेतावनी दिएका थिए। यदि सो समयावधिभित्र युद्ध रोकिने सुनिश्चित नभएको खण्डमा रुसमाथि थप प्रतिबन्ध लगाइने उनले घोषणा गरेका थिए । साथै, उनले युक्रेनलाई थप मिसाइल सहयोग दिने पनि वाचा गरे, जसलाई रुसको विदेश मन्त्रालयले बिहीबार तीव्र आलोचना गरेको थियो।
यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार एक पत्रकार सम्मेलनमा भने, “हामी ट्रम्पका अभिव्यक्तिहरूबाट अमेरिका–रुस वार्ता अन्त्य हुने निष्कर्ष निकाल्दैनौं। यी दुई अलग विषयहरू हुन्, एउटा युक्रेन युद्धसम्बन्धी शान्ति प्रक्रिया हो भने अर्को द्विपक्षीय सम्बन्ध सुधारको विषय हो।”
पेस्कोभले मस्को–वाशिङ्टन सम्बन्ध अझै ‘निराशाजनक अवस्थामा’ रहेको भने स्वीकार गरे । “अझै धेरै झन्झट र अवरोधहरू छन्, जसले सम्बन्ध सुधार गर्न कठिन बनाएको छ”, उनले भने, “तर, हामी यो प्रक्रिया एकैचोटि टुंगिन्छ भन्ने सोच्दैनौं । यसका लागि लामो समय लाग्छ।”
गत जनवरीमा अमेरिकी राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरेपछि ट्रम्पले सुरुमा रुससँग सम्बन्ध सुधार गर्ने संकेत दिएका थिए। तर, पछिल्ला केही हप्तामा पुटिनले युद्धविरामका लागि राखेका कडा सर्तप्रति उनी चिढिएका देखिन्छन्। रुसले युक्रेनमा शान्ति कायम गर्न तत्परता नदेखाएमा प्रतिबन्ध मात्र नभएर सैन्य सहयोगमार्फत युक्रेनलाई अझ बलियो बनाइने संकेत समेत गरेका छन् ।
यस वर्षको सुरुमा रुस र युक्रेनबीच टर्कीमा दुई चरणको शान्ति वार्ता सम्पन्न भएको थियो। ती वार्ताबाट बन्दी र सैनिक अवशेषहरूको आदानप्रदानमा सहमति जुटेको थियो। तर, त्यसयता तेस्रो चरणको वार्ताको कुनै ठोस मिति तय भएको छैन।








