लन्डन साउथेन्ड एयरपोर्टमा विमान दुर्घटना, सवार ४ जनाकै मृत्यु
प्रकाशित मिति : असार ३०, २०८२ सोमबार
इङ्गल्याण्डको ससेक्सस्थित लन्डन साउथेन्ड विमानस्थल । फाइल तस्बिर : अनस्प्लास
इंग्ल्याण्डको ससेक्सस्थित लन्डन साउथेन्ड एयरपोर्टमा आइतवार दिउँसो एक सानो विमान दुर्घटना हुँदा विमानमा सवार चारै जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र विमानस्थल प्रशासनका अनुसार, विमानले उडान भरेको केही समयमै संकटमा परेर एयरपोर्टको सीमाभित्रै खस्दा यो दुर्घटना भएको हो।
एसेक्स प्रहरीले जानकारी दिएअनुसार, दिउँसो करिब ४ बजे साउथेन्ड एयरपोर्टमा एक गम्भीर घटना भएको जानकारी पाएसँगै प्रहरी, एम्बुलेन्स र अन्य आपतकालीन टोली घटनास्थलमा खटिएका थिए। दुर्घटनामा संलग्न विमान १२ मिटर लामो थियो र आइतवार बिहानै सोही एयरपोर्टमा अवतरण गरेर साँझतिर नेदरल्याण्डतर्फ उडान भरिरहेको अवस्थामा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार, विमानमा चार जना सवार थिए र उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। सोमबार जारी गरिएको जानकारी अनुसार मृत्यु हुनेहरू सबै विदेशी नागरिक हुन्, यद्यपि उनीहरूको औपचारिक पहिचान पुष्टि गर्न प्रक्रिया जारी छ।
एसेक्स प्रहरीले एक वक्तव्य जारी गर्दै भनेको छ, “यो अत्यन्तै दुखद क्षणमा हामी मृतकका परिवारप्रति समवेदना प्रकट गर्छौं। हामी वाचा गर्छौं कि मृतकहरूप्रति उच्च सम्मान र मर्यादासाथ व्यवहार गरिनेछ।”
विमान ज्यूश एभिएसन कम्पनीको स्वामित्वमा रहेको थियो। कम्पनीले आइतवार नै आफ्नो एसयूजेट १ उडान दुर्घटनामा परेको पुष्टि गर्दै अनुसन्धानमा प्रहरी र अधिकारीहरूसँग पूर्ण सहकार्य गरिरहेको जनाएको छ।
दुर्घटनास्थलमा चार वटा एम्बुलेन्स, एक र्यापिड रेस्पोन्स सवारी, चार हाजार्डस एरियाको प्रतिक्रिया सवारी, तीन वरिष्ठ प्यारामेडिक टोली र एसेक्स–हर्ट्स हवाई एम्बुलेन्स पठाइएको थियो।
लन्डन साउथेन्ड एयरपोर्ट प्रशासनले आइतवार दिउँसो एक “सामान्य उड्डयन विमान” संलग्न भएको “गंभीर घटना” भएको पुष्टि गरेको छ। प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि एयरपोर्ट बन्द गरिएको जनाएको छ।
“सबै उडानहरू रद्द गरिएका छन्। यात्रुहरूले आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी जानकारी लिनुहोस्,” प्रशासनले जनाएको छ।
हवाई दुर्घटना अनुसन्धान शाखाले घटनाको जानकारी पाएसँगै टोली खटाएको र दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु भएको जनाएको छ।
लन्डन साउथेन्ड एयरपोर्ट लन्डनको पूर्वतर्फ करिब एक घण्टाको दूरीमा समुद्री किनार नजिक रहेको सानो तर व्यस्त क्षेत्रीय विमानस्थल हो।








