गाजामा जिएचएफको राहत वितरणमाथि हमासको प्रतिबन्ध, अमेरिकी संस्थालाई सहयोग नगर्न चेतावनी


प्रकाशित मिति : १९ असार २०८२, बिहिबार

हमासद्वारा सञ्चालित गाजाको आन्तरिक मन्त्रालयले गाजाका जनतालाई अमेरिकी तथा इजरायली समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जिएचएफ) सँग कुनै पनि किसिमको सम्बन्ध नराख्न कडाईका साथ चेतावनी दिएको छ। मन्त्रालयका अनुसार, जिएचएफका राहत वितरण केन्द्रहरू नजिकै भएका घातक घटनाहरूले गाजाली जनतालाई थप संकटमा पारेका छन्।

मन्त्रालयद्वारा बिहीबार जारी वक्तव्यमा भनिएको छ, “जिएचएफ वा यसको स्थानीय तथा विदेशी प्रतिनिधिहरूसँग सम्बन्ध राख्नु, काम गर्नु वा कुनै पनि प्रकारको सहयोग वा समर्थन गर्नु पूर्ण रूपमा निषेध छ।”

मन्त्रालयले थप चेतावनी दिएको छ, “यस संस्थासँग सहकार्यमा संलग्न व्यक्तिहरूलाई विद्यमान राष्ट्रिय कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।”

हमासले जानाजान राहत रोकेको जिएचएफको आरोप
जिएचएफले अहिलेसम्म उक्त घटनामाथि प्रत्यक्ष प्रतिक्रिया दिएको छैन, तर बुधबार राति सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै हमासमाथि “जानाजान गाजा जनतासम्म हमासको नियन्त्रणबाहिरको राहत नपुगोस् भन्ने अभियान चलाइरहेको” आरोप लगाएको थियो।

यस संस्थाले मे महिनाको अन्त्यदेखि गाजामा भोजन प्याकेज वितरण गर्न थालेको थियो। जिएचएफको नेतृत्वमा सञ्चालन भइरहेको यो नयाँ राहत मोडेलमाथि संयुक्त राष्ट्रसंघले गम्भीर प्रश्न उठाएको छ।

गाजामा राहत खोज्ने क्रममा ४००ं नागरिकको मृत्यु
इजरायलले ११ हप्तासम्म लगाएको राहत नाकाबन्दी मे १९ मा हटाएको थियो। त्यसयता संयुक्त राष्ट्रसंघका अनुसार ४०० भन्दा बढी प्यालेस्टिनीहरू राहत लिन खोज्दा मारिएका छन्। आइतबार एक वरिष्ठ यूएन अधिकारीका अनुसार मारिएका अधिकांश मानिसहरू जिएचएफका वितरण केन्द्रहरूमा राहत लिन जाँदै थिए।

सोमबार इजरायली सेनाले पनि घटनाको पुष्टि गर्दै वितरण केन्द्र नजिकै नागरिकहरू मारिएको बताएको थियो । साथै, सिकाइएका पाठ अनुसार सैनिकहरूलाई नयाँ निर्देशन जारी गरिएको छ।

राहत आतंककारी समूहको हातमा पर्न नदिन सेनाले ती केन्द्रहरू नजिकै कार्यरत रहनुपर्ने आवश्यक रहेको इजरायलले बताएको छ। यद्यपि हमासले यो दाबी अस्वीकार गर्दै आएको छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको चासो
यसै हप्ता १७० भन्दा बढी अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले संयुक्त पत्र जारी गर्दै विभिन्न देश सरकारहरूलाई आह्वान गरेका छन् जिएचएफलाई राहत वितरणका लागि प्रयोग गर्न रोक्न र संयुक्त राष्ट्रसंघमार्फत राहत दिन इजरायललाई दबाब दिनुपर्छ।

जिएचएफले पाँच हप्तामा ५२ लाखभन्दा बढी भोजन प्याकेज गाजाली जनतालाई वितरण गरिसकेको दाबी गरेको छ। उसले अन्य मानवीय संस्थाहरूको राहत सामग्री लगभग सबै लुटिएको आरोप लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com