सीरियाको दमास्कसमा रहेको चर्चमा आत्मघाती हमला, कम्तीमा २२ जनाको मृत्यु
प्रकाशित मिति : असार ८, २०८२ आईतबार

फोटो : रासस
सीरियाको राजधानी दमास्कमा रहेको चर्चमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दमास्कसको चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको हो ।
आक्रमणमा ६३ जना घाइते भएका छन् । आन्तरिक मन्त्रालयका अनुसार ड्वाइला क्षेत्रमा रहेको ग्रीक अर्धोडक्स चर्च ‘प्रोफेट एलियास’ मा प्रार्थना भइरहेको बेला एक व्यक्तिले आगो लगाउदै विस्फोटक बेल्ट विस्फोटन गराएका थिए ।
मन्त्रालयका अनुसार आक्रमणकारी इस्लामिक स्टेट नामक जिहादी समूहसँग सम्बन्धित थिए । यद्यपि, हालसम्म सो समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
प्रत्यक्षदर्शी लरेन्स मामारीले भने, ‘कसैले बन्दुक लिएर चर्चभित्र पसेर गोली चलायो । मानिसहरूले उसलाई रोक्न खोजे तर उसले आफूलाई विस्फोट गरायो।’
यो आक्रमण बशर अल असदको १३ वर्ष लामो गृहयुद्धको अन्त्यपछि सिरियामा इस्लामी विद्रोहीहरूले सत्ता लिएको पहिलो ठूलो आत्मघाती आक्रमण हो ।
विस्फोट चर्चको ढोकामा भएको र त्यसले भित्र र वरपर रहेका मानिसहरूलाई निशाना बनाएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।
सिरियाका आन्तरिक मन्त्री अनास खत्ताबले घटनाको अनुसन्धान सुरु गरिएको बताएका छन्। उनले यसलाई “घृणित अपराध” भन्दै निन्दा गरेका छन ।
संयुक्त राष्ट्रसंघमा सिरियाका लागि विशेष दूत गियर पेडरसनले घटनाको कडा निन्दा गर्दै भने, “आतंकवाद, कट्टरपन्थ, उक्साहट र कुनै पनि समुदायमाथि आक्रमणको सबै सिरियालीहरूले विरोध गर्नुपर्छ।”
अमेरिकी विशेष दूत टम ब्याराकले भने, “यो भयावह र कायरतापूर्ण घटनाहरू सिरियालीहरूले बुनिरहेको सहिष्णुता र समावेशी समाजमा कुनै स्थान पाउँदैनन्।”
पछिल्ला केही महिनामा सिरियामा दुईवटा ठूलो सांप्रदायिक हिंसाका घटना भइसकेका छन्।
इस्लामिक स्टेट समूहले सिरियामा पहिले पनि इसाई र अन्य अल्पसंख्यक समुदायमाथि आक्रमण गर्दै आएको छ।
सन् २०१६ मा सो समूहले दक्षिणी दमास्कसमा रहेको शिया मुस्लिम सैय्यदा जैनब सन्दर्भमा गराएको आक्रमणमा ७० भन्दा बढीको मृत्यु भएको थियो ।
यद्यपि सन् २०१९ मा आईएस सिरियामा सैन्य रूपमा पराजित भए पनि राष्ट्रसंघले समूहको खतरा अझै उच्च रहेको चेतावनी दिएको छ।