ट्रम्प प्रशासनको ५ महिना : आप्रवासन नीतिमा कडाइ, १७८ जना नेपाली अमेरिकाबाट देश निकाला


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको शुक्रबार ५ महिना पूरा भएको छ । जनवरी २०, २०२५ देखि अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका ट्रम्पको कार्यकालको ५ महिना पूरा भएको हो । ट्रम्पले कार्यकाल सम्हालेसँगै अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ । जसको प्रभाव अमेरिका रहेका नेपाली समुदायमा पनि प्रत्यक्ष परेको छ ।

राष्ट्रपतिको रूपमा ट्रम्पले कार्यकालको सम्हालेको ५ महिनामा अमेरिकाले १७८ जना नेपालीलाई देश निकाला गरी स्वदेश फर्काएको छ । अमेरिकाले जुन महिनामा मात्रै ३८ जना नेपालीलाई अमेरिकाबाट देश निकाला गरेको हो । अमेरिकाले जुन ८ मा ३७ नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत स्वदेश फर्काएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसारमा ३७ नेपाली नागरिकमध्ये ३२ पुरुष र ५ महिला रहेका थिए । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) को चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका नेपाली नागरिकहरू अमेरिकामा बस्नका लागि कानुनी आधार नभएका थिए ।

त्यसअघि जुन ७ मा अमेरिकाले एक जना नेपालीलाई स्वदेश फर्काएका थियो । ती कागजातबिना अमेरिकामा बस्दै आएका पुरुष थिए ।

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी थियो । अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो । विमानस्थल अध्यागमनका अनुसार मे महिनामा डिपोर्ट गरिएकाहरू सबै पुरुष रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासन सुरु भइसकेपछि अमेरिकाले जनवरीमा ६ जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो । फेब्रुअरी महिना भरी मात्रै अमेरिकाले १८ जनालाई नेपाल फर्काएको हो । फेब्रुअरी ८ मा एकै दिन ६ जना नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएर नेपाल पुगेका थिए । यस्तै, अमेरिकाले अमेरिकाले मार्च महिनामा ३२ जना नेपालीहरूलाई डिपोर्ट गरेको थियो । यो सँगै सन् २०२५ को जनवरी २० देखि जुन २० सम्म अमेरिकाबाट निष्कासित हुने नेपालीको सङ्ख्या एक सय ७८ पुगेको हो ।

“जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८ र जुन २० सम्म ३८ जना नेपालीहरू अमेरिकाबाट देश निकाला भई फर्किएको हाम्रो तथ्याङ्कमा उल्लेख छ । ३७ जना एकैपटक फर्किएपछि आजको मितिको सम्म कोही पनि फर्किएका छैनन् ।”, विमानस्थल अध्यागमनका एक अधिकारीले भने ।

यसरी अमेरिकाबाट फिर्ता पठाइएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि अध्यागमन अधिकारीहरूले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जिम्मा लगाउने गरेका छन् । ब्युरोका अधिकारीहरूले सोधपुछ गरेपछि उनीहरूलाई आफन्त तथा साथीभाइहरूको जिम्मा लगाउँछन् । प्रहरीका अनुसार अहिलेसम्म फिर्ता भएकाहरू अधिकांश मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरू रहेका छन् । उनीहरूले अमेरिका प्रवेशका लागि १ लाख डलरसम्म खर्च गरेको पाइएको हो ।

त्यसअघि, सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । सन् २०२४ को १२ महिनाको तुलनामा सन् २०२५ को ५ महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या झन्डै तीन गुणा बढी रहेको छ ।

सन् २०२३ मा २४, सन् २०२२ मा २२ र सन् २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । सन् २०२१ को जनवरी १७ देखि सन् २०२४ को डिसेम्बर ३० सम्म एक सय ३३ नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com