अमेरिकामा गोली लागी मृत्यु भएका एकै घरका ४ जनाको अन्त्येष्टि गर्न नेपालबाट जान पाएनन् बुबा


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

अमेरिकामा गोली लागी मृत्यु भएका गोरखाका एकै घरका चार जनाको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनले गुनासो गरेका छन् ।

गत जेठको अन्तिम साता भर्जिनियामा मृत भेटिएका पालुङ्टार–८ रातामाटेका ३८ वर्षीय सन्तोष परियार, उहाँकी ३६ वर्षीया श्रीमती अञ्जु श्रेष्ठ, आठ वर्षीया छोरी साइना र दुई वर्षीय बालक ओम परियारको अन्त्येष्टि गर्न जान नपाएको परिवारजनको गुनासो छ ।

अन्त्येष्टिका लागि उनीहरुका बुबा निरबहादुर खाती दम्पतीले प्रयास गरे पनि जान नपाएका वडाअध्यक्ष होपबहादुर नेपालीले बताए ।

“मृतक सन्तोष परियारको कान्छा भाई सुवास परियार अमेरिकी सेनामा हुनुहुुन्छ । यताबाट बुबाआमा अन्त्यष्टिका लागि जान खोज्नुभएको थियो तर दूतावासमा कागजात मिलेको छैन”, उनले भने, “अब सेनामा रहेको भाइले नै काजकिरिया गर्नुपर्ने भयो ।”

सन्तोष पहिले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत थिए । करिब १२ वर्ष दूतावासमा जागिर खाएपछि आठ वर्षअघि उनी जहान परिवारसहित अमेरिका गएका थिए ।

गत जेठ २२ गते उनीहरु भर्जिनियाको मनासस पार्कस्थित लानाए लेन ९४ ब्लकमा रहेको अपार्टमेन्टमा गोली लागी हत्या भएको अवस्थामा फेला परेको पालुङटार नगरपालिका– ८ का वडाअध्यक्ष होपबहादुर नेपालीले बताए । सन्तोषको परिवार विगत आठ वर्षदेखि अमेरिका बस्दै आएको नेपालीको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com