ट्रम्पलाई मोदीले भने – ‘भारत-पाकिस्तान युद्धविराममा अमेरिकी भूमिका छैन’
प्रकाशित मिति : असार ४, २०८२ बुधबार
भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत–पाकिस्तानबीच हालै सम्पन्न भएको युद्धविराममा अमेरिका वा कुनै पनि तेस्रो पक्षको मध्यस्थता नभएको स्पष्ट रुपमा बताएका छन्।
मंगलबार अबेर, क्यानडामा आयोजित जी-७ शिखर सम्मेलनको साइडलाइनमा भएको फोन वार्तामा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई उक्त युद्धविराम भारत र पाकिस्तानबीच सिधा सैन्य च्यानलमार्फत् भएको संवादको नतिजा भएको बताएका हुन्। भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएका हुन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण एशियाली आणविक शक्तिहरू भारत र पाकिस्तानबीच भएको तनाव अमेरिकाको पहलमा अन्त्य भएको दाबी गरेका थिए। व्यापारमा केन्द्रित हुन आग्रह गरेपछि दुबै देशहरू युद्धविराममा सहमत भएको उनले दाबी गरेका थिए। तर, भारतले यस्तो कुनै पनि मध्यस्थताको कुरा पटक–पटक अस्वीकार गर्दै आएको छ।
विदेश सचिव मिस्रीले बताएअनुसार, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई फोनमा स्पष्ट रूपमा भने, “युद्धविरामको समयमा भारत-अमेरिका व्यापार सम्झौता वा भारत–पाकिस्तानबीच अमेरिकी मध्यस्थता सम्बन्धी कुनै पनि संवाद भएको थिएन।”
उनले थप भने, “सैन्य कारबाही रोक्ने वार्ता भारत र पाकिस्तानबीच सिधै अवस्थित सैन्य च्यानलहरू मार्फत् भएको हो र पाकिस्तानको आग्रहमा मात्र यस्तो संवाद सुरु भएको थियो। भारतले विगतमा मध्यस्थता स्वीकार गरेको छैन र भविष्यमा पनि गर्ने छैन भन्ने प्रधानमन्त्री मोदीको स्पष्ट भनाइ थियो।”
भारत र पाकिस्तानबीच दशकौं यताको सबैभन्दा भीषण द्वन्द्व अप्रिल २२ मा सुरु भएको थियो, जब भारतीय नियन्त्रणको कश्मीरमा भएको आक्रमणमा २६ जना (जसमध्ये अधिकांश पर्यटक थिए) मारेिएका थिए। भारतले उक्त आक्रमणका लागि पाकिस्तान समर्थित आतङ्ककारी समूहहरूलाई दोष दिएको थियो, जुन आरोप पाकिस्तानले अस्वीकार गरेको थियो।
जवाफस्वरूप, मे ७ मा भारतले सीमापार गर्दै ‘आतङ्कवादी संरचना’ लक्ष्यित गरी बमबारी गर्यो। त्यसपछि दुबै देशले चार दिनसम्म लडाकु विमान, मिसाइल, ड्रोन र तोप प्रयोग गर्दै व्यापक प्रतिघातमा उत्रिएका थिए।
पाकिस्तानी सेनाले भनेको छ, ७ मेमा भारतीय सेनाले गरेको फोन कलको जवाफ दिएपछि द्वन्द्व अन्त्यको बाटो खुलेको थियो।
मिस्रीका अनुसार, राष्ट्रपति ट्रम्पले भारतको आतङ्कवादविरुद्धको संघर्षमा समर्थन व्यक्त गरे। प्रधानमन्त्री मोदीले पनि अमेरिकालाई जानकारी दिँदै भारतको ‘अपरेसन सिन्दूर’ (जसअन्तर्गत सीमापार आतङ्ककारी संरचनाहरूमा भारतीय कारबाही जारी रहेको) अझै निरन्तर रहेको बताए।
दुबै नेताबीच जी-७ सम्मेलनको साइडलाइनमा प्रत्यक्ष भेटघाटको योजना भए पनि राष्ट्रपति ट्रम्प मध्यपूर्वको परिस्थितिका कारण सम्मेलन सकिनुअघि नै फर्किएका थिए। फोनमा कुराकानीकै क्रममा ट्रम्पले मोदीलाई क्यानडाबाट फर्कने क्रममा अमेरिका आउन आग्रह गरेका थिए। तर, प्रधानमन्त्री मोदीले आफ्नो पूर्वनिर्धारित कार्यतालिका भएको कारण असमर्थता जनाए।
यद्यपि, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई यसै वर्ष भारतमा आयोजना हुने क्वाड राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका छन्, जुन ट्रम्पले स्वीकार गरेका छन्।
मोदी–ट्रम्पबीचको फोन वार्ताबारे अहिलेसम्म व्हाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।








