अमेरिकामा टिकटकलाई थप ३ महिना चल्न दिने ट्रम्पको तयारी


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

red and whites logo

फोटो : अलेक्जेन्डर शाटोभ

अमेरिकामा भिडियो साझा गर्ने एप टिकटक अब कम्तीमा तीन महिना अझै चल्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पदभार सम्हालेपछि तेस्रो पटक प्रतिबन्ध वा बिक्रीको म्याद लम्ब्याउन लागेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले राष्ट्रपति ट्रम्पले यस हप्ता थप कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् जसले टिकटकलाई सञ्चालनमा राख्नेछ भनेर जानकारी दिइन ।

चिनियाँ स्वामित्वमा रहेको कम्पनी बाइटडान्स ले जनवरीसम्ममा अमेरिकी कम्पनीलाई बिक्री नगरेमा टिकटकलाई प्रतिबन्ध लगाउने योजना थियो । तर ट्रम्पको यो निर्णयले टिकटकलाई थप समय दिएको छ।

लेभिटले भनिन्, “यो ९० दिने म्यादविस्तारले सम्झौता सम्पन्न गर्ने सुनिश्चितता दिनेछ । जसबाट अमेरिकी जनताले आफ्नो डेटा सुरक्षित रहेको विश्वासका साथ टिकटक प्रयोग गर्न सक्नेछन्।”

ट्रम्पले टिकटकको म्याद बढाउनेछौं भनेर बताएका छन । साथै, उनले यसमा चीनको स्वीकृति आवश्यक पर्ने बताए।

कांग्रेसले पारित गरेको बिक्री वा प्रतिबन्धसम्बन्धी कानूनसँग ट्रम्पको निर्णय विरोधाभासी छ । पूर्व राष्ट्रपति जो बाइडेनले उक्त कानूनमा हस्ताक्षर गरेर लागू गरेका थिए।

यो कानून टिकटकमार्फत चीनले अमेरिकामा जासुसी र राजनीतिक हस्तक्षेप गर्न सक्ने चिन्तालाई सम्बोधन गर्न ल्याइएको हो । अमेरिकामा टिकटकका करिब १७ करोड प्रयोगकर्ता छन्।

सर्वोच्च अदालतले जनवरीमा यस कानूनलाई वैध ठहर गर्दै लागू गर्न आदेश दिएको थियो । ट्रम्पले आफ्नो पहिलो कार्यकाल २०२० मा टिकटकलाई अमेरिकी कम्पनीलाई बेच्न दबाब दिएका थिए ।

तर २०२४ को राष्ट्रपति चुनावमा टिकटकले आफूलाई जित्न सहयोग गरेको विश्वास गर्दै उनले एपप्रति सकारात्मक धारणा व्यक्त गर्दै आएका छन ।

ट्रम्पको बारम्बार म्यादविस्तारपछि कतिपय विश्लेषकले टिकटकमा प्रतिबन्ध लाग्ने सम्भावना एकदमै न्यून रहेको बताएका छन्।

ट्रम्प प्रशासनले अप्रिलमा टिकटकको अमेरिकी अपरेशन अमेरिकी स्वामित्वमा ल्याउने सम्झौता नजिकै छ भनेको थियो । तर त्यो सम्झौता अझै सम्पन्न भएको छैन।

केही महत्त्वपूर्ण विषयहरू समाधान हुन बाँकी रहेका बाइटडान्सका प्रवक्ताले बताएका थिए । कुनै पनि सम्झौता चिनियाँ कानुनअनुसार अनुमोदन हुनुपर्ने उनले बताए ।

ट्रम्पले टिकटकलाई क्लाउड कम्प्युटिङ कम्पनी ओराकल लाई बेचेको हेर्न चाहने बताएका छन् । ओराकलका सह संस्थापक ल्यारी एलिसन ट्रम्पका पुराना सहयोगी हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com