पाँच लाखभन्दा बढी क्युबाली, हाइटी, निकारागुवाली र भेनेजुएलालीहरूलाई देश छोड्न अमेरिकी सरकारको आदेश


प्रकाशित मिति : असार १, २०८२ आईतबार

अमेरिकी सरकारले ५ लाखभन्दा बढी क्युबाली, हाइटी, निकारागुवाली र भेनेजुएलालीहरूलाई देश छोड्न आदेश दिएको छ ।

डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) ले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट आएका आप्रवासीहरूको अस्थायी बसोबास र काम गर्ने अनुमति तुरुन्तै रद्द गरिएको जानकारी दिएको हो ।

अधिकारीहरूका अनुसार यी व्यक्तिहरूलाई मानवीय प्रवेश अनुमति कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गर्न दिइएको थियो । जुन कार्यक्रम राष्ट्रपति जो बाइडेनको प्रशासनले अक्टोबर २०२२ मा सुरु गरेको हो।

करीब ५ लाख ३२ हजार मानिसहरूले यो कार्यक्रम मार्फत दुई वर्षसम्म अमेरिका बस्न र काम गर्न अनुमति पाएका थिए । तर अब डीएचएस ले उनीहरूलाई इमेलमार्फत जानकारी पठाउँदै अनुमति रद्द गरिएको बताएको छ।

डीएचएस का अनुसार जसको बसोबास स्थिति अवैध भइसकेको छ, ती व्यक्तिहरूले सीबीपी मोबाइल एप प्रयोग गरी स्वेच्छिक रूपमा अमेरिका छोड्न सक्नेछन्। घर फर्किएपछि उनीहरूलाई यात्रा सहायता र १ हजार डलर दिइनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कार्यक्रमलाई “मानवीय प्रवेशको दुरुपयोग” भन्दै आलोचना गर्दै आएका थिए । उनले आफ्नो दोस्रो कार्यकालमा लाखौं अवैध आप्रवासीहरूलाई निर्वासित गर्ने घोषणा गरेका थिए।

ट्रम्प प्रशासनले यी चार देशका नागरिकहरूको लागि दिइएको मानवीय प्रवेश अनुमति खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध मुद्दा दायर गरिएको थियो । तर गत महिना अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई अनुमति दिँदै कार्यक्रम अन्त्य गर्न सकिने निर्णय दिएको हो ।

आप्रवासी अधिकारका लागि काम गर्ने संस्थाहरुले यस निर्णयलाई ‘गम्भीर अस्थिरता ल्याउने’ कदम भनेका छन्।

सबै कानुनी प्रक्रिया पूरा गरेका, सुरक्षा परीक्षण पास गरेका, आफ्नो यात्रा खर्च आफैं बेहोरेका, र जीवन निर्वाह गरिरहेका विरुद्ध यो निर्णय गरिनु दुखद भएको उनीहरुले बताएका छन ।

यो निर्णयले हजारौं परिवारको भविष्य अन्योलमा पारिदिएको छ । अमेरिकामा आप्रवासन नीतिहरू झन कठोर बन्दै गएको संकेत पनि पछिल्लो निर्णयले देखाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com