भयानक विमान दुर्घटनामा भाग्यले बाँचेका विश्वास बसेको ‘११ ए’ सिट, सुरक्षित सिट या संयोग ?
प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

एयर इन्डियाको विमान दुर्घटनामा बाँचेका एक मात्र जीवित व्यक्ति विश्वास कुमार रमेशको स्वास्थ्य अवस्था बुझ्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : सिन्ह्वा
बिहीबार भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डिया बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार २४२ मध्ये २४१ जनाको ज्यान गयो । साथै, दुर्घटनास्थलमा रहेका केही व्यक्तिहरूको ज्यान गयो।
तर, यो भीषण दुर्घटनामा एक जना मात्र यात्रु चमत्कारीरूपमा बाँच्न सफल भए, उनी थिए, भारतीय मूलका बेलायती नागरिक विश्वास कुमार रमेश । उनी विमानको ‘११ ए’ सिटमा बसेका थिए।
लन्डन जान उडेको उक्त विमान टेकअफको केही समयपछि होस्टल भवनमा ठोक्किएर आगो लागेर पूर्ण रूपमा ध्वस्त भएको थियो। यति ठूलो दुर्घटनाबाट एक जना मात्र यात्रु बाँच्न सफल हुनु चमत्कारभन्दा कम होइन।
विश्वास कुमार रमेश आपतकालीन निकास ढोकाको एकदम छेउको सिटमा थिए। दुर्घटनापछि विमानको अर्कोपट्टिको ढोका भवनले बन्द भइसकेको थियो। तर, उनी बसेको छेउको ढोका अझै खुला हुने अवस्था थियो। त्यसैले उनी तुरुन्त ढोका खोली बाहिर निस्किन सफल भए।
‘सिट ११ ए” : सुरक्षित सिट या संयोग ?
दुर्घटनापछि संसारभरका मानिसहरूमा एउटा प्रश्न उठेको छ —’के सिट ११ ए नै सबैभन्दा सुरक्षित हो ?’
तर, उड्डयन विशेषज्ञहरू भन्छन्, यो संयोग मात्र हो।
सबै विमानको डिजाइन, सिट संरचना र आपतकालीन निकासका स्थानहरू फरक हुन्छन्। सिड्नी-आधारित एभल एभिएसन कन्सल्टिङकाका अध्यक्ष रोन बर्ट्स भन्छन्, “यो घटनामा त्यो सिट सुरक्षित बन्यो किनभने दुर्घटनाको कोणले अरू निकासहरू बन्द गर्यो।”
उडान सुरक्षा फाउन्डेसनका निर्देशक मिचेल फक्स भन्छन्, “हरेक दुर्घटना फरक हुन्छ। सिटको स्थानले बाँच्ने ग्यारेन्टी दिन सक्दैन।”
२००७ मा पपुलर मेकानिक्सद्वारा गरिएको अध्ययन अनुसार, विमानको पछाडिको भागमा बसेका यात्रुहरूको बाँच्ने सम्भावना अगाडिको भागभन्दा बढी देखिएको थियो। तर, केही विज्ञहरूले विमानको पखेटा भागलाई संरचनात्मक रूपमा बलियो हुने बताउँछन्।
तर विमान दुर्घटनामा निकास ढोकाको छेउ हुनु पनि सधैं फाइदाजनक हुँदैन, किनभने ढोका अड्किन सक्छ वा भवनले थुनिन सक्छ, जस्तै कि यस घटनामा भएको थियो।
विश्वास कुमार रमेशले बताएअनुसार, उनी विमानको ढोका नजिक भएकाले उनीसँग निस्कन आवश्यक केही सेकेन्ड थिए । जुन अरू यात्रुहरूले पाउन सकेनन्।
सन् २०२४ को जनवरीमा पनि यस्तै एउटा घटना भएको थियो, जब बोइङ ७३७ म्याक्स विमानको उडानका क्रममा एउटा प्यानल उडेर गएको थियो। त्यहाँ सिट खाली भएकाले कसैलाई चोट लागेन, तर यसले यस्ता घटनाहरू कति अप्रत्याशित हुन्छन् भन्ने प्रमाणित गर्छ।
विशेषज्ञहरू भन्छन् — “उड्डयन यात्रामा सबैभन्दा ठूलो सुरक्षा उपाय भनेको यात्रुको तयारी हो।” सामान्यतः अवहेलना गरिने सुरक्षा जानकारी र डेमोहरूले आपतकालीन अवस्थामा बाँच्ने सम्भावना धेरै गुणा बढाउन सक्छ।”
मिचेल फक्सका अनुसार, पछिल्लो वर्षहरूमा विमानका क्याबिन डिजाइन, फायर सेफ्टी सिस्टम, निकास मार्ग आदिमा उल्लेखनीय सुधार आएको छ।
जापान एयरलाइन्सको एक उडानमा सन् २०२४ को सुरुतिर भएको रनवे दुर्घटनामा ३७९ जना यात्रुहरू सबै सुरक्षित थिए, जसको मुख्य कारण यात्रुहरूले निर्देशन पालन गरेका थिए र आफ्नो सामान छोडेर सुरक्षित रूपमा निस्किएका थिए। – हिन्दुस्तान टाइम्सबाट