विमान दुर्घटनामा अस्ताए गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

भारतको लागि सबैभन्दा दुखद र भयावह विमान दुर्घटनामध्ये एक बिहीबार दिउँसो अहमदाबादमा भएको छ। एयर इण्डियाको लन्डनतर्फ उडिरहेको विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै एक बस्तीमा खस्दा २४२ यात्रु तथा चालक दलका सदस्यहरू सवार उक्त विमान पूर्णरूपमा ध्वस्त भएको छ।

दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीको मृत्यु भएको पुष्टि भारतीय जनता पार्टी (भाजपा) का गुजरात प्रमुखले पत्रकारहरूसँगको संक्षिप्त संवादमा गरेका छन्। रुपानी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लन्डन गइरहेका थिए। उनका साथ यात्रारत अन्य सरकारी पदाधिकारीहरूबारे थप विवरण आउन बाँकी छ।

विमान उडेको पाँच मिनेटमै इन्जिनमा गम्भीर खराबी आएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ। विमानले सन्तुलन गुमाउँदै अहमदाबाद नजिकको मणिनगर क्षेत्रमा खस्दा बस्तीमा समेत ठूलो क्षति पुगेको छ। दुर्घटनास्थलमा आगलागी समेत भएकोले उद्धार कार्यमा कठिनाइ भएको थियो। घटनास्थलमा दमकल, प्रहरी, सेना र स्थानीय स्वयंसेवकहरू परिचालित छन्।

यस घटनामा एक ब्रिटिश नागरिक जीवितै उद्धार गरिएका छन्। विश्वास कुमार रमेश नाम गरेका ४० वर्षीय ती व्यक्ति सिट नम्बर ११ ए मा थिए। दुर्घटनापछि उनी गम्भीर रूपमा घाइते अवस्थामा लरबराउँदै देखिएका थिए र स्थानीयहरूले उद्धार गरेका हुन्। हाल उनलाई अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय प्रधानमन्त्रीले शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा घाइतेहरूको उपचार निःशुल्क गर्ने र पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ।

विमानमा सवार अन्य यात्रुहरूको पहिचानको प्रक्रिया जारी छ। दुर्घटनामा जीवित रहेका अरू यात्रुहरू भएरनभएको पत्ता लगाउन उद्धार कार्य रातभर चल्नेछ। स्थानीय बासिन्दाहरूले तत्काल सहयोग पुर्‍याएर धेरैलाई समयमै अस्पताल पु(र्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com