अमेरिकामा आप्रवासन छापा र सैनिक परिचालनविरुद्ध प्रदर्शन चर्किंदै, क्यालिफोर्नियामा कर्फ्यु जारी


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

TOPSHOT-US-POLITICS-IMMIGRATION-PROTEST

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गरिएको आप्रवासन छापामार अभियान र सैन्य बलको प्रयोगविरुद्ध अमेरिकी विभिन्न शहरहरूमा व्यापक विरोध प्रदर्शन सुरु भएको छ। बुधबार टेक्सास, न्यूयोर्क, अटलान्टा, शिकागो र अष्टिन लगायतका शहरहरूमा प्रदर्शन चर्किएको छ भने लस एन्जलसमा स्थिति नियन्त्रण बाहिर जान थालेपछि सहरको केही क्षेत्रमा कर्फ्यु लगाइएको छ।

लस एन्जलसमा ५ दिनदेखिको अशान्तिपछि सैनिक तैनाथ

लस एन्जलसमा जारी पाँच दिनको अशान्ति नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पको निर्देशनमा सयौं मरीन सैनिक र ४,००० भन्दा बढी राष्ट्रिय गार्ड तैनाथ गरिएको छ। सैनिकहरूलाई सरकारी भवन तथा कर्मचारीहरूको सुरक्षा गर्न पठाइएको भए तापनि तिनीहरूलाई पक्राउ गर्ने अधिकार दिइएको छैन।

एक अमेरिकी अधिकारीका अनुसार करिब ७०० मरीन सैनिकहरू लस एन्जलसको दक्षिणतर्फको सिल बिच क्षेत्रमा तैनाथ भएका छन् र तिनीहरू विशेष स्थानहरूमा परिचालित हुने तयारीमा छन्। यद्यपि, स्थानीय अधिकारीहरूले यो कदमलाई आवश्यक नभएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लस एन्जलसकी मेयर करेन बासले भने, “प्रदर्शनहरू शान्तिपूर्ण छन्, स्थानीय प्रहरी आफैंले नियन्त्रण गर्न सक्छ। सैनिक परिचालन अनावश्यक हो।” यद्यपि, मंगलबार राति केही व्यवसायहरूमा लुटपाट भएको कारण सहरको एक वर्ग माइल क्षेत्रलाई कर्फ्युमा राखिएको छ। प्रहरीले कर्फ्युको उल्लङ्घन गर्ने समूहहरूलाई नियन्त्रणमा लिने क्रममा ‘थोक गिरफ्तारी’ गरेको जनाएको छ।

गभर्नर न्यूसमको कडा आपत्ति, ट्रम्पविरुद्ध मुद्दा दायर

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले संघीय सेनाको तैनाथीलाई ‘शक्तिको दुरुपयोग’ भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। मंगलबार जारी भिडियो सन्देशमा उनले भने, “राष्ट्रपतिद्वारा गरिएको यो दमनकारी निर्णयले स्थिति अझ बिगार्‍यो। यो लोकतन्त्रमाथिको सीधा आक्रमण हो।”

न्यूसम, जो २०२८ मा राष्ट्रपति उम्मेदवारी दिने तयारीमा रहेका मानिन्छन्,ले रक्षा मन्त्रालयविरुद्ध मुद्दा हालेका छन् र संघीय सैनिकको परिचालनलाई रोक्न माग गरेका छन्। ट्रम्पले उल्टो न्यूसमलाई गिरफ्तार गर्नुपर्ने सुझाव दिएका छन्।

टेक्सासमा पनि राष्ट्रिय गार्ड परिचालन गर्ने तयारी

टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबटले पनि प्रदर्शनको तयारीस्वरूप बुधबार राष्ट्रिय गार्ड तैनाथ गर्ने निर्णय गरेका छन्। टेक्सासको अष्टिन शहरमा पहिले नै प्रदर्शन सुरु भइसकेको छ।

सैनिक प्रयोगमाथि कानुनी विवाद

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोंटाले संघीय सैनिकहरूको प्रयोग १८७८ को पोजे कमिटाटस ऐनको उल्लंघन हुनसक्ने बताएका छन्, जसले अमेरिकी सेनालाई नागरिक कानुनी कार्यमा संलग्न हुन प्रतिबन्ध लगाएको छ।

“संघीय कर्मचारीको सुरक्षा भन्नाले आप्रवासन एजेन्ट आइसलाई समुदायमा लैजाने र आप्रवासन कानुन लागू गराउने कार्यलाई संरक्षण दिनु भन्न सकिन्छ, जुन कानुनको दृष्टिकोणबाट आपत्तिजनक छ,” बोंटाले बताए।

ट्रम्प प्रशासनको दोब्बर रणनीति

अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस)ले मंगलबार राष्ट्रिय गार्ड सैनिकहरूलाई आप्रवासन छापा अभियानमा सँगै रहेको तस्बिर सार्वजनिक गरेको छ। ट्रम्प प्रशासनले प्रदर्शनहरूको प्रतिकारस्वरूप आप्रवासन छापा दोब्बर पार्ने चेतावनी दिएको छ।

सेना प्रयोगको इतिहास

सन् १९९२ मा लस एन्जलसमा अश्वेत नागरिक रोड्नी किङमाथि प्रहरीद्वारा भएको कुटपिटको आरोपबाट प्रहरी निर्दोष ठहरिएपछि भएको दंगामा तत्कालीन क्यालिफोर्निया गभर्नरले राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुशसँग सैनिक सहयोग मागेका थिए। त्यसयता इन्सर्रेक्सन एक्ट अन्तर्गत नागरिक नियन्त्रणका लागि सेनाको प्रयोग गरिएको थिएन।

शनिबार हुने ट्रम्प विरोधी प्रदर्शन र सैन्य परेड

शनिबार अमेरिकी सेनाको २५०औं वार्षिकोत्सवको अवसरमा वाशिङटन डी.सी.मा ट्याङ्क तथा बख्तरबन्द गाडी सहितको सैनिक परेडको आयोजना गरिएको छ, जुन राष्ट्रपति ट्रम्पको ७९औं जन्मदिनसँग मेल खाने गरी तय गरिएको छ। सोही दिन राष्ट्रव्यापी विरोध प्रदर्शनको तयारी भइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com