इस्तानबुल शान्ति वार्ता : युद्ध अन्त्यको लागि युक्रेनमाथि रूसले राखेका कडा सर्तहरू
प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार
(SpotNews)TÜRKIYE-ISTANBUL-RUSSIA-UKRAINE-PEACE TALKS
रूसले सोमबार इस्तानबुलमा भएको शान्ति वार्तामा युक्रेनमाथि युद्ध अन्त्यको लागि कडा सर्तहरू प्रस्तुत गरेको छ। रूसी सञ्चारमाध्यम इन्टरफ्याक्सद्वारा प्रकाशित ज्ञापनअनुसार, युद्ध समाप्त गर्न युक्रेनले ठूलो मात्रामा भूमि त्याग्नुपर्ने, आफ्नो सेनाको आकार घटाउनुपर्ने, र तटस्थ राष्ट्र बन्नुपर्नेछ – जसअनुसार उसले नाटो सदस्यता पनि त्याग्नुपर्नेछ।
ज्ञापनअनुसार युक्रेनले सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमिया सहित डोनेट्स्क, लुहान्स्क, जापोरिझिया र खेर्सन क्षेत्रहरूमा रहेको आफ्नो सैनिक उपस्थिति पूर्ण रूपमा हटाउनुपर्नेछ। रूसले यी क्षेत्रहरूलाई आफ्नो भागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन युक्रेनमाथि दबाव दिएको छ।
रूसी सर्तअनुसार युक्रेनले रूसी भाषी नागरिकहरूका अधिकार सुरक्षित गर्नुपर्नेछ, रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्नेछ, र नाजी विचारधाराको प्रचार वा प्रशंसालाई कानुनी रूपमा प्रतिबन्ध लगाउनु पर्नेछ। युक्रेनले यी मागहरूलाई अस्वीकार गर्दै नाजीको आरोपलाई निराधार भनेको छ र रूसी भाषीहरूप्रति कुनै भेदभाव नगरेको दाबी गर्दै आएको छ।
रूसले दुई विकल्पसहित युद्धविरामको प्रस्ताव पनि गरेको छ।
पहिलो विकल्प : युक्रेनले लुहान्स्क, डोनेट्स्क, जापोरिझिया र खेर्सनबाट पूर्ण फौजी फिर्ता गर्नुपर्ने भनिएको छ।
दोस्रो विकल्प : युक्रेनले सैन्य पुनःतैनाथी रोक्नुपर्ने, विदेशी सैन्य सहयोग, उपग्रह सञ्चार र गुप्तचर सहायता नस्वीकार्नुपर्ने, मार्शल ल’ हटाउनुपर्ने र १०० दिनभित्र राष्ट्रपति तथा संसदीय निर्वाचन गराउनुपर्ने प्रस्ताव गरिएको छ।
यसबाहेक, रूसी प्रतिनिधिमण्डल प्रमुख भ्लादिमिर मेदिन्स्कीले केही मोर्चाहरूमा २–३ दिनको सीमित युद्धविरामको सुझाव दिएका छन् ताकि मृत सैनिकहरूको शव संकलन गर्न सकियोस्।
वार्ता छोटो, सहमति सीमित
मार्च २०२२ पछि दोस्रोपटक वार्तामा बसेका दुबै देशका प्रतिनिधिमण्डलले मुश्किलले एक घण्टा मात्रै संवाद गरे। वार्ताबाट ठोस प्रगति नभए पनि दुबै पक्षले केही मानवीय मुद्दामा सहमति जनाएका छन् – जसमध्ये गम्भीर घाइते र कम उमेरका युद्धबन्दीहरूको साटासाट, र १२,००० जना मृत सैनिकहरूको शव फिर्ता समावेश छन्।
ट्रम्पको मध्यस्थता र टर्कीको आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा भइरहेको ूरक्तपातू अन्त्य गर्न आह्वान गर्दै आएका छन् र यदि दुबै पक्षले ठोस प्रगति नदेखाए अमेरिकाले आफ्नो मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। टर्कीका राष्ट्रपति तय्यिप एर्दोगानले बैठकलाई ‘महत्वपूर्ण’ भन्दै भ्लादिमिर पुटिन, भोलोदिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीच टर्कीमा प्रत्यक्ष भेट गराउने आशा व्यक्त गरेका छन्।
युक्रेनको प्रतिक्रिया
युक्रेनी रक्षा मन्त्री रुस्तेम उमेरोभ, जसले वार्तामा किभको प्रतिनिधित्व गरे, उनले रूसको दस्तावेज प्राप्त भएको तर त्यसमा तत्काल प्रतिक्रिया नदिने बताए। उनले युक्रेनले आफ्नो छुट्टै शान्ति योजना बनाएको र त्यसैअनुसार वार्ता अघि बढाउने जनाए।
उमेरोभका अनुसार युक्रेनले जून महिनाभित्र थप वार्ताका लागि प्रस्ताव गरेको छ, तर अन्ततः जेलेन्स्की र पुटिनबीचको प्रत्यक्ष वार्ताबाट मात्र ठोस समाधान सम्भव हुने विश्वास युक्रेन पक्षको छ।
बालबालिका अपहरणको मुद्दा
राष्ट्रपति जेलेन्स्कीले बैठकमा ४०० युक्रेनी बालबालिकाको सूची प्रस्तुत गरेको बताए, जसलाई रूसले अपहरण गरेको युक्रेनको आरोप छ। तर रूसी पक्षले तीमध्ये केवल १० बालबालिकाको फिर्ती प्रक्रियामा सहकार्य गर्ने जनाए। रूसले बालबालिकाहरूलाई युद्ध क्षेत्रबाट जोगाउन सारिएको दाबी गर्दै आएको छ।
युक्रेनको माग : सम्पूर्ण स्वाधीनता र क्षतिपूर्ति
युक्रेनले रूसी दस्तावेजको प्रतिलिपिसँगै आफ्नो प्रस्तावित शान्ति योजना पनि तयार पारेको छ, जसमा निम्न मागहरू छन्स्
– युक्रेनको सैन्य क्षमतामा कुनै प्रतिबन्ध नलगाइनु
– रूसी नियन्त्रणमा रहेका क्षेत्रहरूको स्वतन्त्रता कायम रहनु
– रूसबाट युद्धजन्य क्षतिपूर्तिको माग
युद्धले हजारौंको ज्यान लिइसकेको छ र लाखौं नागरिक विस्थापित भइसकेका छन्।








