थाइल्यान्डबाट मुम्बई आएका यात्रुको साथमा दर्जनौँ विषालु सर्प भेटिएपछि…
प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार
थाइल्यान्डबाट भारतको मुम्बई विमानस्थल आइपुगेका एक भारतीय यात्रुको साथबाट दर्जनौँ विषालु सर्पहरू बरामद गरिएको छ। ती सर्पहरू यात्रुको चेक–इन लगेजमा लुकाएर ल्याइएको भारतीय भन्सार विभागले जानकारी दिएको छ।
मुम्बई भन्सारले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार, बरामद सर्पहरूमा ४४ वटा इन्डोनेसियाली पिट भाइपर रहेका छन्। साथै, ती यात्रुसँग तीनवटा स्पाइडर–टेल्ड हर्न्ड भाइपर, पाँचवटा एसियाली कछुवा समेत फेला परेका छन्। भन्सारले ती सरीसृप र जनावरहरूलाई विशेष रूपमा बाल्टिनभित्र राखिएको अवस्थामा पाएको जनाएको छ।
ती सर्पहरू अत्यन्त विषालु मानिन्छन्, यद्यपि सामान्यतया साना शिकार, विशेषगरी चराहरूलाई लक्ष्य गर्छन्। भन्सारले पक्राउ परेका सर्पहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ, जसमा निलो र पहेँलो रंगका सरीसृपहरू देखिन्छन्।
मुम्बईजस्तो सहरमा यस्तो प्रकृतिको वन्यजन्तु तस्करी दुर्लभ मानिन्छ। यहाँ प्रायः सुन, नगद, लागूपदार्थ लगायतका तस्करीका घटना देखिने भए पनि वन्यजन्तुको तस्करी भने कमै देखिन्छ।
यसअघि पनि मुम्बई विमानस्थलमा यस्ता केही उल्लेखनीय घटनाहरू भएका छन्। फेब्रुअरी महिनामा भन्सार अधिकारीहरूले एक तस्करलाई रोकेका थिए, जसको साथबाट इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलमा पाइने पाँचवटा सियामाङ गिब्बन बाँदर बरामद गरिएको थियो। ती जनावरहरू इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (IUCN) द्वारा खतरामा परेका प्रजातिमा सूचीकृत छन्।
त्यस्तै, नोभेम्बरमा थाइल्यान्डबाट आएका एक यात्रुको साथबाट १२ वटा कछुवा बरामद गरिएको थियो भने एक महिना अघि चारवटा हर्नबिल चरा बोकेका एक यात्रु पक्राउ परेका थिए।
गत सेप्टेम्बरमा पनि भन्सारले अलिगेटर प्रजातिमा पर्ने पाँचवटा किशोर कैमन्ससहित दुई यात्रुलाई पक्राउ गरेको थियो।
भन्सार विभागले यस्तो खालको वन्यजन्तु तस्करी रोक्नका लागि निगरानी अझ कडा बनाइएको जनाएको छ।








